रुकुमपूर्वको भूमे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।समबार गाउँ कार्यपालिकाको कार्यालय खाबाङबगरमा सम्पन्न भएको कार्यक्रममा पालिकाले गाउँ–गाउँमै नागरिकको घरदैलोमा गएर जनगुनासा सुन्ने प्रक्रिया टुंग्याएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगर, नौ वटै वडाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत देविलाल बिक, विभिन्न शाखाका प्रमुख, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता थियो।
कार्यक्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा लगायतका विषयमा समस्याहरू राखेका थिए।सहभागीहरूले सरकारी विद्यालयमा शिक्षक दरबन्दी अभाव, कमजोर पठनपाठन, स्वास्थ्य चौकीमा कर्मचारीको अनियमित उपस्थिति, अधुरा संरचना, अनि कृषि कार्यक्रमको अलपत्र अवस्थाका बारेमा प्रश्न उठाका हुन।
वडाध्यक्षहरुले आफ्ना वडाहरुमा सामाजिक सुरक्षा भत्ता र आधारभूत सेवा पुर्याइएको भए पनि कक्षा ८ र १० को शिक्षाको गुणस्तरमा चुनौती रहेको बताएका थिए।विद्यालयको वार्षिक परीक्षा सञ्चालन सम्बन्धी प्रश्न सेमेत उठाएका थिए।
स्थानीय नागरिक गोवर्धन बुढामगरले भूमे २ गाबाङमा अझै पनि टिनको त्रिपालमुनि कक्षा सञ्चालन भइरहेको भन्दै स्थायी भवन बन्न नसकेको गुनासो गर्नु भएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले नागरिकका गुनासोप्रति पालिका संवेदनशील रहेको बताउनुभयो।“शिक्षा र स्वास्थ्य सेवा सुदृढ गर्न पालिका रातदिन लागिरहेको तर भने जस्तो प्रतिफल नआउदाँ शिक्षा गुणस्तर गर्न गम्भिर छलफल गर्ने बताउनु भएको छ।
उपाध्यक्ष सविना बुढामगरले पालिकालाई नागरिकको दोस्रो अभिभावकको रूपमा रहेको र सबै समस्या समाधान गर्न गाउँपालिका क्रियाशील रहेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत देविलाल बिकले चालु आर्थिक वर्षमा पालिकाले ८८ प्रतिशतभन्दा बढी विकास कार्य सम्पन्न गरिसकेको जानकारी दनुभएको छ।अधिकृत बिकले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो।
भूमे गाउँपालिकाले यस वर्षको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत स्थानीय गुनासा र आवश्यकताहरुलाई सुधारेर अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।गाउँपालिकाले नागरिकले उठाएका विषयलाई नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिने बताएको छ।
कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पालीले गरेका थिए।कार्यक्रम सञ्चालनमा नागरिकको सहभागिता अपेक्षाकृत कम देखिएको विषयमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए।














प्रतिक्रिया दिनुहोस्