२०८३ कार्तिक १२ गते बुधवार

साउने संक्रान्तिमा अगुल्टो घुमाउँदै लुतो फाल्ने परम्परा



तस्बिर : अन्वेषण खबर

साउने संक्रान्तिको अवसरमा रुकुमपूर्वका सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न गाउँ–बस्तीमा परम्परागत शैलीमा उल्लासपूर्वक पर्व मनाइएको छ।

प्रत्येक वर्ष झैं यस वर्ष पनि स्थानीयहरूले साँझपख भिम्मलको भाङ्ग बाल्दै, अगुल्टो घुमाउँदै, लुतो फालेर धार्मिक एवं सांस्कृतिक विधि पूरा गरेका छन्। सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने यो दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने गर्दछन्। यही दिनदेखि सूर्यको दक्षिणायन सुरु हुने ज्योतिषीय मान्यता छ।

भूमे गाउँपालिका–३ क्याङ्सीका स्थानीय तिलक रोका अनुसार “यो पर्वले रोग र बाधाबाट मुक्ति दिन्छ भन्ने विश्वास छ। बच्चाबच्ची र घरपरिवारका सदस्यलाई अगुल्टो घुमाएर चारै दिशातिर फाल्ने चलन छ।” उहाँका अनुसार कुरिलो, कुकुर डाइनो, भलायो जस्ता जडीबुटी बिहानै घरमा ल्याएर राख्ने र साँझपख त्यसैसँग अगुल्टो बाल्दै लुतो फ्याँक्ने प्रचलन गाउँघरतिर अझै जीवित छ।

आजको दिनदेखि आरु, ओखर, टिम्मुरलगायत मौसमी फलहरू चढाउने परम्परासमेत रहेको छ। “साउने संक्रान्तिको रात राकसलाइ पूजा गरेर अगुल्टो फाल्दा वर्षभरि रोग नलाग्ने शास्त्रीय विश्वास रहेकाे रोकाले बताउनुभयाे ।

जिल्लाका सयौं घरमा बालिएको भिम्मलको उज्यालोले साँझको गाउँ नै झलमल्ल देखिएको थियो। महिलाहरू रातो–हरियो चुरा, पोते र मेहेन्दी लगाएर चोकचोकमा भेला भएका थिए। साउने सोमबार परेको यस दिन शिव मन्दिरहरूमा पूजा, व्रत र दर्शनका लागि भक्तजनको घुइँचो लागेको थियो।

तस्बिर : दिलचन पुनमगर साैजन्य

पछिल्ला वर्षहरूमा टोलटोलका युवाहरूको सक्रियतामा यो पर्व अझ व्यवस्थित र आकर्षक बनेको छ। संस्कृति जगेर्नामा स्कुले बालबालिका, युवा क्लब र महिला समूहहरूको सहभागिता बढ्दै गएको छ।

 

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार