२०८३ बैशाख ५ गते शनिवार

जङ्गली च्याउ खाँदा रुकुमपूर्वमा बालकको मृत्यु, आमासहित दुई बालबालिका गम्भीर



फाेटाे फाईल

जङ्गली च्याउ खाँदा रुकुमपूर्वमा एक बालकको ज्यान गएको छ भने तीन जना गम्भीर बिरामी भएका छन्। भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको उपचारको क्रममा मृत्यु भएको छ।योजनसँगै च्याउ खाएका उनका आमा ३५ वर्षीया राजकुमारी सुनार, ९ वर्षीया छोरी आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार गम्भीर बिरामी छन्।

शुक्रबार साँझ जंगलबाट ल्याएर पकाएको च्याउ खाएपछि परिवारका सबै सदस्यमा ज्वरो, वान्ता, टाउको दुख्ने लगायतका लक्षण देखिएको थियो। स्थिति गम्भीर बन्दै गएपछि उनीहरूलाई सोमबार बिहान रुकुमपूर्व अस्पताल लगिएको थियो।

रुकुमपूर्व अस्पतालले अवस्था चिन्ताजनक देखिएपछि योजन, भाग्यरेखा र आमालाई थप उपचारका लागि सल्यान रेफर गरेको थियो। तर, जिल्ला अस्पताल सल्यानमा उपचारकै क्रममा आज दिउँसो ३ बजे योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयो।

डीएसपी यादवका अनुसार भाग्यरेखाको अवस्था निकै गम्भीर छ।जसका कारण उनीहरूलाई दाङस्थित अस्पतालमा पठाइएको छ। अर्की छोरी आयुषालाई भने रुकुम पश्चिम पठाइएको बताएको छ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मङ्गलवार