भूमे गाउँपालिका–९ चुनबाङस्थित ‘तीन बहिनी’ धार्मिक स्थल पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।बराह मन्दिर रहेको यस धार्मिक थलोबाट सिस्ने, मानाभरे, पाथीभरे हिमालका साथै रोल्पा र रुकुमका थुप्रै रमणीय दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ।बराह मन्दिरको विशेषता यो पनि हो कि यहाँ दलित पुजारी रहने परम्परा कायम गरिएको छ, जसले धार्मिक समावेशिता र सामाजिक समानताको उदाहरण प्रस्तुत गरेको छ।
स्थानीयका अनुसार तीन बहिनीले यही स्थानमा बराह भगवानको आराधना गरी आफ्नो मनोकामना पूरा गर्ने गर्दछन।गाउँपालिका र प्रदेश सरकारको सहकार्यमा चुनबाङ गैरीगाउँदेखि तीन बहिनीसम्मको ट्रेकिङ पदमार्ग निर्माण भइरहेको छ।भूमे गाउँपालिकाले २०७४/०७५ मा १ लाख ५० हजार विनियोजन गरेर बराह मन्दिरको निर्माण थियो।त्यसपछिका वर्षहरूमा कृषि ज्ञान केन्द्र रोल्पाको सहयोगमा प्रतिक्षालय र खानेपानी सुविधा पुर्याएको छ।
तीन बहिनी स्थलबाट खोपिचार, लसुनबारी, चुनबाङको अधिकांश भाग, जुमा, राङ्सी लगायतका स्थानहरू प्रस्ट देख्न सकिन्छ। साथै, नजिकै रहेका भेरीडाँडा संग्रहालय, महत युद्ध फिचर, लाबाङ, थबाङ, र रुकुमकोटको कमल दहजस्ता गन्तव्यसमेत जोड्न सकिने भएकाले यो स्थान अझ आकर्षक बन्ने संकेत देखिएको छ।तीन बहिनी लेक धार्मिक, ऐतिहासिक, सामाजिक र पर्यटकीय दृष्टिकोणले समेटेर अगाडि बढाउन सकेमा यो स्थल नजिकको भविष्यमा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रबल रहेको छ।
















प्रतिक्रिया दिनुहोस्