२०८३ कार्तिक ११ गते मङ्गलवार

स्वास्थ्य बिमा प्रती नागरिकको आकर्षण बढ्दो



पछिल्लो समय रुकुमपूर्वका नागरिकको स्वास्थ्य बिमा प्रतीको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ ।उपचार खर्च आफैं नतिर्नु पर्ने, न्यून शुल्कमा एक लाख रुपैयाँसम्मको औषधि र उपचार सुविधा पाउने भएपछि नागरिकहरू स्वास्थ्य बिमातर्फ आकर्षित हुन थालेका हुन्।स्वास्थ्य बिमा नहुँदा सामान्य औषधि सितामोल किन्ने पैसा समेत तिर्नुपर्थ्यो ।तर, बिमा गरेपछि नाम दर्ता गर्दा मात्र शुल्क लाग्ने र त्यसपछि विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने भएपछि नागरिकहरू स्वेच्छिक रूपमा बिमा गर्न थालेका छन्।

२०७४ सालदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो।त्यसयता हालसम्म ११ हजार ८ सय ८१ जनाले स्वास्थ्य बिमा गराएका छन्।सुरुमा अनाकर्षण देखिए पनि पछिल्लो समय धेरै नागरिक बिमा गरिरहेका छन्।स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुमपूर्वका दर्ता अधिकृत सपना पुनले जानकारी दिनुभयो।

भूमे गाउँपालिकाले अपाङ्ग, दीर्घरोगी र जेष्ठ नागरिक गरी २ हजार ५० जनाको निशुल्क बिमा गराएको छ।त्यस्तै, ३ हजार १ सय ३ जनाले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन्।सिस्ने गाउँपालिकामा १ हजार ५ सय ९० जनाको निःशुल्क तथा २ हजार २३६ जनाको शुल्क तिरेर बिमा गरेका छन्।पुथा उत्तरगङ्गा गाउँपालिकामा १ हजार १ सय ९० जना अशक्त नागरिकको निःशुल्क र १ हजार ६ सय २७ जनाको शुल्क तिरेर बिमा गरेका छन्।

दर्ता अधिकृत पुनका अनुसार पाँच सदस्यीय परिवारले बिमा गर्दा वा नवीकरण गर्दा ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ ।पाँचभन्दा बढी सदस्य भएको परिवारको हकमा अतिरिक्त सदस्यका लागि प्रतिव्यक्ति ७ सय रुपैयाँ थप्नुपर्छ ।एक घरपरिवारलाई वर्षभरि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा प्राप्त हुन्छ।पाँचभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य थप २० हजार रुपैयाँको सुविधा प्राप्त गर्ने प्रावधान रहेको छ।

लक्षित वर्गका लागि निःशुल्क बिमा

‘क’ वर्गका अपाङ्ग, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोग, क्षयरोग, एचआइभी संक्रमित बिरामी तथा महिला स्वास्थ्य स्वयंसेविका र उनीहरूको परिवारलाई बिमा शुल्कमा छुट वा निःशुल्क सुविधा दिने व्यवस्था छ।”सरकारले लक्षित वर्गलाई निःशुल्क बिमा गरिदिने, औषधि र उपचारमा सहज पहुँच सुनिश्चित गर्ने नीति लिएपछि नागरिकहरू बिमाप्रति आशावादी बनेका छन्”, पुनले बताउनुभयो।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतवार