२०८३ कार्तिक ११ गते मङ्गलवार

भौगोलिक विकटता र ज्ञानको कमीले महिलाको स्वास्थ्यमा निम्ताएको चुनौती



आमा शब्द आफै मा एउटा गहकिलो शब्द हो।मानवजाति को सिर्जना आमाबाट नै हुन्छ।त्यसैले त आमालाई सृष्टिकर्ता भनिन्छ।तर त्यही आमा हुने क्रममा कति महिला दिदि बहिनीले मृतुवरण गर्नु परेको दुखद अनुभवहरु छन् हामीसंग।एउटा स्वास्थ्यकर्मी को नाताले आज को २१ औं बताब्दी र स्वास्थ्य क्षेत्रमा यती धेरै विकास भैसक्दा पनि सिंगो देश लगायत हाम्रो लुम्बिनी प्रदेशमा मातृमृत्यु दर उच्च हुनु हाम्रो लागि दुर्भाग्यको कुरा हो।अझ विशेष गरेर लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व मा आज पनि महिलाहरु गर्भवती, सुत्केरी र सुत्केरी पश्चात उपुक्त र समयमा उपचार, स्याहार र माया नपाएर ज्यान गुमाउन बाध्य छन्।

विगत १४ महिना देखि रुकुमपूर्व अस्पतालमा रही स्वास्थ्यकर्मी को रुपमा स्वास्थ्य सेवा दिदैँ आउँदा, यस रुकुमपूर्व जिल्लाका महिला दिदि बहिनीले यहाँको भौगोलिक विकटता, बाटोघाटोको राम्रो सुबिधा नहुँदा, यातायातको साधनको अपर्याप्तता, बर्खा याममा बाढी पहिरोको उच्च जोखिम, समाजमा शिक्षा, ज्ञान र चेतनाको कमि, युवाहरुको विदेश पलायनको बढ्दो लहर, महिलाहरुमा आत्मानिर्भरताको कमि र सानो उमेर (२० वर्ष भन्दा कम) विवाह गर्ने परम्परा र संस्कृति, स्वास्थ्य सस्था सबै को पहुचमा नहुनु जस्ता कारणले आज पनि अकालमा गर्भवती,सुत्केरी र सुत्केरी पश्चात  महिलाको ज्यान गैरहेको तितो यथार्तता अनुभव गरेको छु।यथार्थमा, केवल पूर्वाधारको अभाव मात्र होइन, चेतनाको कमी पनि मातृ र नवजात मृत्युदर बढाउने एक प्रमुख कारण हो।अझै पनि धेरै स्थानमा १५–१६ वर्षमै विवाह हुन्छ।गर्भावस्था र सुत्केरीका अवस्थालाई सामान्य प्रक्रिया ठानिन्छ।सासू–ससुरा वा घरका अन्य सदस्यहरूले अस्पताल लैजान आवश्यक ठान्दैनन्।घरमै धामी झाँक्री गर्नेजस्ता अभ्यासहरू अझै पनि कायम छन्।स्वास्थ्य संस्था नपुग्ने महिलाहरू सेवाबाट वञ्चित छन्।

नेपाल सरकारको प्राथमिकतामा परेका कार्यक्रमहरु : आमा र नवजात शिशु सुरक्षा, सुरक्षित गर्भपतन, परिवार नियोजन, पोषण, खोप जस्ता कार्यक्रम रुकुमपूर्व जिल्लामा सफलतापुर्बक संचालन हुँदाहुदै पनि आठ पटक गर्भवती जाच गर्नेको संख्या न्युन, आइरन क्याल्सियमको प्रयोगकर्ताको कमि, स्वास्थ्य सस्थाबाट प्रदान गरिने गर्भवती सेवा लिने गर्भवतीको संख्या न्यून, घरमा सुत्केरी हुनु, घरमा सुत्केरी पश्चात अत्याधिक रगत बगेर आमाको ज्यान जाने,  असुरक्षित गर्भपतनको कारण प्रतिकुल स्वास्थ्य हुने, परिवार नियोजनका साधनको प्रयोगकर्ता को कमि, कुपोषित बालबालिकाको संख्या अनगिन्ति हुनु, पाठेघर खस्ने समस्या बढो हुनु जस्ता समस्या हामी स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको लागि चुनौती रहदै आएको छ।

यस्ता समस्याहरुको समाधान गर्नु र मातृमृत्यु दर घटाउनु हामी स्वास्थ्यकर्मीको आजको ठुलो जिम्मेवारी र चुनौती रहेको छ।समाज र स्थानीय तहबाटनै हरेक नागरिकले जिम्मेवारी पुरा गर्न सकियो भने यो समस्या समाधान गर्न सकिन्छ।यसैको एउटा उदाहरण स्थानीय रेडियो एफ. एम.बाट प्रसारण हुने कार्यक्रम “भन्छिन आमा”  रहेको छ।”भन्छिन आमा” कार्यक्रममा सुनौलो १००० दिन अर्थात् कुनै महिला गर्भवती भएदेखि नवजात शिशुको जन्म र सो शिशु २ वर्षको हुँदासम्म आमा र शिशुलाइ स्वस्थ बनाउनको लागि अपनाउनु पर्ने र ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी रेडियो बहस मार्फत प्रसारण गर्न जरुरी देखिन्छ।

“भन्छिन आमा” कार्यक्रम अन्तर्गतको सुनौलो १००० दिनको रेडियो बहसमा किशोरीहरुको शारीरिक र मानसिक स्वास्थ्य, बिबाह र गर्भधारण गर्ने सहि उमेर (२० बर्ष माथि), सरसफाई, साबुनपानी ले हात धुनुको महत्व, नियमित गर्भ जाचको कुरा, सुत्केरी तयारी, स्वास्थ्य सस्थामा सुत्केरी हुने कुरा ,आमा र बच्चाको पोषिलो आहारको महत्व, बच्चाको  नियमित खोप र वृद्धि विकास जाँचको महत्व, जन्मान्तर गर्नुको फाइदा, पारिवारीक साथ् ,माया,ममता र हेरचाहको आवश्यकता जस्ता महत्वपूर्ण विषयमा जानकारी समुदायले बुज्ने भाषामा प्रदान गरिन्छ।यस कार्यक्रम मा एउटा महिला किशोरी हुँदाको अवस्थादेखि उसको गर्भवती, सुत्केरी र सुत्केरी पश्चातको उनको र उनको  बच्चाको स्वास्थ्य सम्मलाई समेट्ने हुनाले र धेरै संख्यामा मातृमृत्यु र नवजात शिशु मृत्यु हुने समय पनि त्यँही भएकोले “भन्छिन आमा” कार्यक्रम अन्तर्गतको सुनौलो १००० दिनको  रेडियो बहसले मातृमृत्यु र नवजात शिशु मृत्यु गर्नको लागि ठुलो भूमिका खेल्दै आएको छ र भविष्यमा ठुलो सहयोग गर्ने बिश्वाश पनि रहेको महसुस गरेको छ। मातृमृत्यु र नवजात शिशु मृत्युदर कम गर्नु मेरो, तपाइको, समाजको र देशको नै दायित्वो हो र यो कुरा सबैले मनन गरेर आ-आफ्नो ठाउँबाट जिमेवारी पुरा गरेमा छिट्टै हामी दिगो बिकाशको मातृमृत्यु र नवजात शिशु मृत्युदर कम गर्ने लक्ष्यलाई हासिल गर्ने छौँ।

मातृ तथा नवजात मृत्युदर कम गर्नु भनेको एउटी आमाको मात्र होइन, सिंगो पुस्ताको जीवन रक्षा गर्नु हो।यस्ता मृत्यु कुनै पनि सभ्य समाजको कलङ्क हो।यो कुनै नियति होइन, चेतना, पहुँच, जानकारी र सेवाको समन्वयले हल गर्न सकिने समस्या हो।हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्‍यौं भने मातृमृत्यु दर घटाउनु कठिन छैन। ‘भन्छिन आमा’ जस्ता प्रयासहरूलाई सशक्त बनाउँदै, हरेक आमा र शिशुलाई सुरक्षित जीवनको ग्यारेन्टी दिन सकिन्छ।अन्ततः एउटी आमा सुरक्षित हुने हो भने, सिंगो पुस्ता सुरक्षित हुन्छ। त्यसैले यो दायित्व केवल स्वास्थ्यकर्मीको मात्र होइन—तपाईं, म, समाज र राष्ट्र सबैको साझा दायित्व हो।

लेखक रुकुमपूर्व अस्पतालमा विगत १४ महिना  देखि  बरिष्ठ नर्सिङ निरिक्षक हुनुहुन्छ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतवार