२०८३ साउन १६ गते शनिवार

रुकुमपूर्वमा १ हजार ७० जनाले प्रस्तुती सेवा लिए



 लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा दुर्गमता, पूर्वाधारको अभाव र स्वास्थ्य सेवा पहुँचको चुनौतीबीच पनि १ हजार ७० महिलाले आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी सेवा लिएका छन्।

जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश बस्तीहरू सडक सञ्जालबाट टाढा रहेको छ।अत्यधिक रक्तश्राव, शारीरिक कमजोरी, लामो दूरी र असहज यातायातका कारण गर्भवती महिलाको ज्यान जोखिममा पर्ने अवस्था रहेको जिल्ला अस्पताल रुकुमपूर्वका वरिष्ठ नर्सिङ निरीक्षक विष्णुकुमारी पन्तले जानकारी दिनुभयो।उहाँको अनुसार एक जना गर्भवती महिलालाई हेलिकप्टरमार्फत रिफर गरिएको र १८ जना बिरामीलाई एम्बुलेन्समार्फत दाङ, नेपालगन्ज लगायतका अस्पताल पठाइएको छ।दुर्गम भेगबाट महिला आइपुग्दा जटिल अवस्थामा हुन्छन्।अधिकांशलाई अत्यधिक रक्तश्रावको समस्या देखिन्छ, पस्ले गर्दा प्रस्तुती सेवा निकै जोखिम मोल्नु परेको पन्तले बताउनुभयो।

रुकुमपूर्व अस्पतलमा हालसम्म ब्लड बैंक स्थापना भएको छैन्।आकस्मिक अवस्थामा अस्पतालले आफैं रक्तदाताको खोजी गर्नुपर्छ।“रगतकै अभावले ज्यान गुमाउने खतरा भइरहन्छ,” पन्तले भन्नुभयो।ब्लड बैंक नहुदाँ पनि ११ जना महिलालाई समयमै रगत उपलब्ध गराएर सेवा दिन सफल भएको बताईएको छ।

जुम्लिहाँमा यस वर्ष चार नवजात शिशुको जन्म भएको छ।सुत्केरीपछिको जटिलताका कारण ७ जना महिलाको पाठेघर च्यातिएर सिलाईएको छ।बच्चा उल्टो बसेर, नाल बेरिएर, व्यथा लामो लागेर, बच्चाले गर्भमा नै दिशा खाएर, बच्चा खेल्ने पानी गर्भमा कम भएर, बच्चा सामान्य तौल भन्दा ठुलो भएर लगायतका कारणहरुले आकस्मिक शल्यक्रिया गरेर २५ जना आमा र बच्चाको अकालमा ज्यान जान सक्ने खतरालाई समाधान गर्न सफल भएको पन्तले बताउनुभयो।

जिल्लाको तीनवटै गाउँपालिकाका कतिपय स्वास्थ्य संस्थामा अझै पनि अस्थायी भवन रहेको छ।कतै पानी चुहिने टहरा, कतै बिजुली नै छैन।अनमीहरू भन्छन्, सुत्केरी सेवा रोकिएको छैन।दुर्गम बस्तीहरूमा सडक सञ्जालबाट टाढा छन्।गर्भवती महिलालाई अस्पताल पुग्न घण्टौंको पैदल यात्रा गर्नुपर्ने अवस्था अझै पनि विद्यमान छ।

कुन स्वास्थ्य चौकीमा कति

सिस्ने गाउँपालिकाभित्रका ६ वटा स्वास्थ्य संस्थाबाट ३ सय ९६ महिलाले सुत्केरी सेवा लिएका छन्।सिस्ने स्वास्थ्य चौकीबाट ३९ जना, प्वाङ स्वास्थ्य चौकीबाट ३०, पोखरा स्वास्थ्य चौकीबाट ५३, रुकुम अस्पतालबाट २४२, रुकुमकोट स्वास्थ्य चौकीबाट ५ र ल्यालपाखा स्वास्थ्य चौकीबाट २७ जना महिलाले सेवा लिएका हुन्।

यसै गरी भूमे गाउँपालिकामा ११ वटा सुत्केरी सेवा दिने केन्द्र रहेकामा जम्मा २२२ महिलाले सेवा लिएका छन्। तीमध्ये आधारभूत स्वास्थ्थ सेवा केन्द्रहरु लुगुमबाट ६ र झुम्लाबाङबाट २, धर्मशाला १०,सेराबाङ ९, कोर्जा ,१७, कुचिबाङ १३, काँक्री स्वास्थ्य चौकीबाट ५४, मोरावाङ स्वास्थ्य चौकीबाट ३०, काडाँ स्वास्थ्य चौकीबाट ३२, महत स्वास्थ्य चौकीबाट १४, चुन्बाङ स्वास्थ्य चौकीबाट ३५ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकृत निमप्रसाद गिरीले जानकारी दिनु भएको छ।

पुथा उत्तरगंगा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाबाट १ सय ९४ महिलाले सुत्केरी सेवा लिएका छन्।म२कोट स्वास्थ्य चौकीबाट ३३ जना, हुकामबाट स्वास्थ्य चौकीबाट ३८, तकसेरा स्वास्थ्य चौकीबाट ३७, कोल स्वास्थ्य चौकीबाट १६,जाङ स्वास्थ्य चौकीबाट २६, राङ्सी स्वास्थ्य चौकीबाट २४ जनाले सेवा लिएका छन्।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार