रुकुमपूर्व। भूमे गाउँपालिकाको वडा नं. ७ मा आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्मको कार्य प्रगतिको सार्वजनिक सुनुवाइ तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।विकट भूगोल र दुर्गमता हुँदाहुँदै पनि वडाले ९० प्रतिशतभन्दा बढी वित्तीय प्रगति हासिल गरेको छ।
कार्यक्रममा वडामा देखिएका विभिन्न समस्या र जनताको गुनासोहरू पनि उठेका थिए।स्थानीय बालकुमार विश्वकर्माले जेष्ठ नागरिकहरूले नवीकरणमा समस्या हुँदा अनावश्यक सास्ती भोग्नु परेको बताउनुभयो।
त्यसैगरी, स्थानीय रिता ओलीले वडाको दुर्गमता र भित्री ठाउँमा पर्ने भएकाले खानेपानीको अभाव रहेको गुनासो गर्नुभयो।अर्का स्थानीय धनमान रोकाले बाँदर र दुम्सीको आतङ्कले कृषकको मकै र आलु नष्ट भएको उल्लेख गर्दै वन्यजन्तु नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो। किसानहरूले उत्पादन गरेका लसुन बजार अभावमा खेर गएकाले उचित बजार व्यवस्थापनको माग पनि कार्यक्रममै उठाइएको थियो।स्थानीयहरूले सडक, पुल तथा अन्य भौतिक पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने विषयमा पनि प्रश्न गरेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले यसलाई “विकास निर्माणमा फड्को मारेको बताउनुभयो।उहाँले वडामा रहेका पर्यटन प्रवर्द्धनका सम्भावनाहरूको योजनाबद्ध विकास गरेर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले विकासलाई केवल सडक, भवन र योजनासम्म सीमित नराखेर जनउत्तरदायी शासन प्रणालीको अभ्यास र नागरिकको आवाज सुन्ने संस्कार निर्माण गरेको बताउनु भएको छ।सहर नजिकका ठाउँहरूको तुलनामा बढी प्रतिकूल ठाउँमा भए पनि सहर बढी काम भएको देख्नु सकारात्मक विषय बनेको बताउनुभयो।खानेपानी, लसुन बजार, नवीकरण, बाँदरको समस्या यी सबै तत्काल समाधान गर्दै लैजाने बताउनु भएको छ।उहाँले जनताको विश्वास जितेर जनतालाई खुसी बनाउने प्रतिब्धचा छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष संगम रोका मगरले वडा नं. ७ मा सम्पन्न योजनाहरू, चुनौतीहरू र आगामी योजनाका बारेमा विस्तृत रूपमा प्रस्ट पार्नु भएको थियो।वडामा भएको ९० प्रतिशतभन्दा बढी वित्तीय प्रगति कुनै संयोग नभई निरन्तर जनसहभागिता र योजना अनुसारको कार्यान्वयनको परिणाम भएको बताउनुभएको छ।वडाको जनशक्ति, स्रोत र सीमित बजेटलाई ध्यानमा राखेर काम गरेको बताउनुभयो।जेष्ठ नागरिकको नवीकरण प्रक्रिया कठिन भएको गुनासो ठिकै हो।हामीले वडा तहबाट सेवा पुर्याउने प्रयास गरिरहेका छौं।तर केही कामहरू पालिकासँग र केन्द्र सरकारसँग जोडिएकोले सहज बनाउन प्रयासरत रहेको बताउनुभयो।उक्त कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ रुकुमपूर्व उपाध्यक्ष बालाराम शेर्पाली गरेका थिए।











प्रतिक्रिया दिनुहोस्