२०८३ साउन १३ गते बुधवार

स्थानीय तहको स्वमूल्याङ्कन : रुकुमपूर्वको भूमे गाउँपालिका लुम्बिनीमा चौथो



सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा लुम्बिनी प्रदेशमा रुकुमपूर्वको भूमे गाउँपालिका चौथो बनको छ।भूमे गाउँपालिकाले ८७.२५ अंकसहित चौथो बनेको हो।गत आर्थिक वर्ष २०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा अनुसार भूमे गाउँपालिकाले ८०.५० अङ्क प्राप्त गरेको थियो।

आर्थिक वर्ष २०८०/०८१ नतिजाअनुसार देशभरमा धादिङको बेनिघाट गाउँपालिका ९१.७५ अंकसहित पहिलो हुदाँ गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंकसहित लुम्बिनी प्रदेशमा पहिलो  देशैभर दोस्रो, पाल्पाको रिब्दिकोट र गुल्मीको धुर्कोट गाउँपालिका समान ८७.५ अंकसहित क्रमशः दोस्रो र तेस्रो, तथा दाङको राप्ती र रुकुमको भूमे गाउँपालिका ८७.२५ अंकसहित चौथो स्थानमा परेका  हो।यस्तै रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले ६८.५० अङ्क प्राप्त गरेको छ भने सिस्ने गाउँपालिकाले ७७ अङ्क प्राप्त गरेको छ।भूमेमा ९ वटा वडा छन् भने पुथाउत्तरगंगामा १४ र सिस्नेमा ८ वटा वडा रहेका छन्।

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाले हासिल गरेको सफलता सम्पूर्ण भूमेली जनताको साझा उपलब्धि भएको बताउनु भएको छ।स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मा ८७.२५ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हात पारेको सन्दर्भमा अध्यक्षले कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी तथा आम नागरिकलाई धन्यवाद ज्ञापन गर्दै “देशभर पहिलो हुने गाउँपालिकाले ९१.७५ अंक र दोस्रो हुनेले ९०.१५ अंक प्राप्त गरेका छन्।हाम्रो पालिकाले ल्याएको नतिजा त्यसभन्दा धेरै टाढा छैन।यसले हामीलाई अब्बल सावित गरेको छ।अध्यक्ष श्रेष्ठले भन्नुभयो।यो नतिजाले अझ ठूलो जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा सुशासन, प्रभावकारी सेवा प्रवाह र दिगो विकासमा पालिका थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

मन्त्रालयले प्रशासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्याययिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा सूचक बनाएर स्थानीय तहको स्वमूल्याङ्कन नतिजा प्रकाशित गर्दै आएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजाको गुणस्तर परीक्षणको कार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार