२०८३ साउन १४ गते बिहिवार

सल्यानमा तीजको दर खाने कार्यक्रममा दलित महिलामाथि जातीय विभेद



भाद्र ६ गते शुक्रबार बिहान १० बजेकाे समयमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१, कुग्रे खोरमा तीजको दर खाने कार्यक्रममा दलित महिलामाथि जातीय विभेद भएको छ।

जनप्रिय आमा समूहकी अध्यक्ष चन्द्रा रावलले सोही समूहकी सदस्य कमला विश्वकर्मालाई दलित भएकै कारण सार्वजनिक रूपमा अपमान गरेकाे बताईएकाे छ।

विश्वकर्माका अनुसार, रावलले उपस्थित समूहको अगाडि “कामीकै छोरी होस्, कामीकी छोरीले बनाएको दर हामी खाँदैनौँ, तैले छोएको पानी चल्दैन, तैले पकाएको खाना हामी खाँदैनौँ” भन्दै गालीगलौज गर्दै रावलले गर्भवती र महिनावारी भएका महिलाले खाना पकाउन नहुने भन्ने अन्धविश्वासी धारणा फैलाएर महिलामाथि थप अपमान गरेको विश्वकर्माले बताएका छन्।

“मलाई सार्वजनिक रूपमा जातको नाम लिएर अपमान गरियो। यस्तो पीडा व्यक्तिगत मात्र होइन, सामाजिक अपमान हो। अब म कानूनी उपचार खोज्ने तयारीमा छु,” पीडित विश्वकर्माले अन्वेषण खबरसँगको टेलिफोन संवादमा भनेका छन्।

नेपालको संविधान र लागू भइरहेको जातीय भेदभाव तथा छुवाछूत (कसूर तथा सजाय) ऐन २०६८ अनुसार कुनै पनि व्यक्तिलाई जातीय आधारमा अपमान, बहिष्कार वा छुवाछूत गर्ने कार्य दण्डनीय अपराध मानिन्छ । उक्त कानुनमा यस्तो अपराध गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार