२०८३ साउन १३ गते बुधवार

खैकेको नयाँ गन्तव्य



नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो।यहाँका हिमाल, पहाड, तराई सबैले आफ्नै सौन्दर्य बोकेका छन्।तर, अझै पनि थुप्रै स्थानहरू यस्ता छन्, जसको रमणीयता बाहिरी संसारले देख्न पाएको छैन।रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ मा अवस्थित खैके लेक त्यस्तै अद्भुत खजनाको रुपमा रहेको छ।समुद्री सतहदेखि करिब पाँच हजार मिटर उचाइमा रहेको यो लेक प्रकृतिको अनुपम उपहार पनि हो।कठिनाइपूर्ण यात्रा पार गरेर त्यहाँ पुगेपछि पाइने सौन्दर्यले थकान मात्रै होइन, जीवनका दुख–कष्ट पनि भुलाइदिन्छ।

साउन महिनाको एक आइतबार साँझ।आकाशमा बादलको घना पर्दा, गाउँतिर बग्ने खोला र नदी गर्जिरहेका थिए।यस्तो बेलामा पनि हामी केही पत्रकार र सामाजिक अभियन्ताहरूले खैके लेक जाने निर्णय गर्‍यौं।यात्रामा साथ दिनुहुने सहकर्मीहरू हुनुहुन्थ्यो—जयमान बुढा मगर, हरिबहादुर नेपाली, जलन बस्नेत, हिक्मत प्रोटेल, सपना ओली , राजशेन ठकुरी, लक्ष्मी केसी।सबैको आँखा उत्साहले चम्किरहेको थियो।कसैले क्यामेरा बोकेका थिए, कसैले नोटबुक,कसैले सुनदर दृष्य निहाली रहेका ।

खैके लेक पुग्ने बाटो आफैंमा साहसिक अनुभव हो।रुकुमकोटबाट ३० किलोमिटर मध्य पहाडी लोगमार्ग र करिब ४० किलोमिटर दूरी पार गरेर सहिद मार्ग हुँदै तकेसरा पुगिन्छ।त्यसपछि पैदल यात्रा सुरु हुन्छ – तल्लो सेरा, माथिल्लो सेरा हुँदै उत्तरगंगा नदी किनारैकिनार जंगलभित्र।करिब एक घण्टाको मोटरसाईकलको यात्रा पश्चात् दम्चन गाउँ पुगिन्छ।यहाँबाट भने यात्रा अझै कठिन तर आकर्षक बन्छ।

सिमसिमे वर्षा, आकासमा मदारिएको बादल र उकालो बाटोले यात्रालाई चुनौतीपूर्ण बनाउँछ।कतै अप्थ्यारो बाटो, कतै ढुङ्गामै बाटो बनाउनुपर्ने अवस्था।तर, यही कठिनाइले यात्रामा रोमाञ्च थप्छ।प्रत्येक पाइला आफैंमा साहस हो, र प्रत्येक मोड नयाँ दृश्यको खोज थियो मेरो लागि ?

खैके लेकको यात्रा केवल प्राकृतिक सौन्दर्य हेर्ने मात्र होइन, स्थानीय जीवन बुझ्ने अवसर पनि हो।बाटोमा कतै गोठ, कतै गाईबाख्राको वथान, अनि गोठालाको व्यस्त जीवन देखिन्छ।गोठ वरिपरि घुम्ने भोटे कुकुर, पशु चराउने मानिस, अनि दोहोरी गीत गाउँदै रमाउने क्षण पर्यटकका लागि अमूल्य अनुभव हुन्छ।गोठाला जनक कामीको गोठमा बसेर स्थानीयसँग रातभर बसेर, आगो ताप्दै, गीत गाउँदै, प्रकृतिसँग कुरा गर्दै बिताएको समय अनमोल हुन्छ।यसरी गोठालाको संस्कृतिलाई नजिकबाट देख्ने मौका पर्यटनका लागि विशेष आकर्षण हो।भोलिपल्ट बिहानै यात्रा निरन्तर गर्नेबित्तिकै लेकको दर्शन हुन्छ।समुद्री सतहदेखि करिब पाँच हजार मिटर उचाइमा फैलिएको खैके लेक फुलेका विन्जुरीका फुल।वरिपरि मौन शान्ति, चिसो हावा र हिमालको प्रतिबिम्बले मेरो नयन झनै दिव्य बनाउँछ।खै किन किन।पूर्वतर्फ उभिएको डापाखा हिमाल गर्वका साथ मुस्कुराइरहेको हुन्छ।आखाँले निहाल्न गाह्रो हुने वरिपरि असंख्य रंगीचंगी विन्जुरीका फूल फुल्छन्, जसले लेकलाई प्राकृतिक बगैंचाजस्तो सजाउँछ। यहाँ बस्ने जो कोहीलाई लाग्छ – जीवनमा संघर्षपछि पाइने सौन्दर्य यस्तै हो।

स्थानीय सरकारले खैके लेक ट्रेकिङ, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन र होमस्टे प्रवर्द्धनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सहक्रर्मीहरु संग केही छलफल हुन थाल्छ।नजिकैका जिल्ला–क्षेत्रका युवाहरूका लागि छोटो र साहसिक ट्रेकिङ बन्न सक्छ।खैके लेक केवल एउटा लेक मात्रै होइन, यो प्रकृति, संस्कृति र साहसिकताको संगम हो।यात्राले शारीरिक कठिनाइ दिन्छ तर मानसिक आनन्दको शिखरमा पुर्याउँछ।यहाँ आउने पर्यटकले जीवनमा कहिल्यै नबिर्सिने स्मृति लिएर फर्किन्छन्।

अब आवश्यक छ – यस अद्भुत खैके लेकलाई देश–विदेशमा चिनाउने।यदि स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर यसलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सके, खैके लेक रुकुमपूर्वकै होइन, सम्पूर्ण नेपालको गौरव बन्नेछ।

प्रकाशित मिति : २०८२ भाद्र ११ गते बुधवार