२०८३ कार्तिक १२ गते बुधवार

मध्यपहाडी लोकमार्ग अलपत्र, स्थानीय सरकारको मुख ताक्दै



नेपाल सरकारकै प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सहिदमार्ग रुकुमपूर्वमा लामो समयदेखि अलपत्र छाडिएको छ।सरकारले ठेकेदारमार्फत बजेट उपलब्ध गराएर गुणस्तरीय ढङ्गले काम गर्न निर्देशन दिँदै आए पनि काम समयमै सम्पन्न नहुँदा मात्रै नभई बनेका खण्डको समेत मर्मत सम्भार नभएकाले सरकारको लगानी बालुवामा पानी हाले सरह खेर गइरहेको देखिन्छ।मध्यपहाडी लोकमार्गलाई ग्रामीण भेगमा पहुँच विस्तार र नागरिकलाई सहज यातायात सुविधा दिने सपना बोकेर अघि बढाइएको थियो।तर रुकुमपूर्व खण्डमा यो सपना कागजमै सिमित हुन थालेको छ।सडक अलपत्र हुँदा जनताले भरपर्दो र सुरक्षित सुविधा पाउन सकिरहेका छैनन्।यात्रुहरू दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

कालोपत्रे अधुरै  

रुकुमपूर्व खण्डमा मध्यपहाडी लोकमार्ग ५५ किलोमिटर फैलिएको छ।भूमे गाउँपालिका–१ लुगुमदेखि सिस्ने गाउँपालिका –६ रानीकोटसम्म ३५ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भएको छ।तर बाँकी रानीकोटदेखि रुकुमपश्चिमको सिमाना खोपीचारसम्म ७ किलोमिटर र लुगुमदेखि बाग्लुङ सिमाना यिरतेता सम्म १३ किलोमिटर गरी २० किलोमिटर खण्ड अझै पनि कालोपत्रे हुन सकेको छैन।लुगुम–यिरतेता १३ किलोमिटर खण्डको ठेक्का २०७२/०७३ मा सिद्धिशाही प्रकाशरभारत खिन्टी महादेव कन्स्ट्रक्सन जेभीले पाएको थियो।तर आठ–नौ वर्ष बित्दा पनि कालोपत्रे काम अधुरै छ।त्यस्तै, रानीकोट–खोपीचार ७ किलोमिटर खण्डमा कालिका प्यासिफिक जेभीले काम गरिरहेको भए पनि ढिलासुस्ती र सुस्त गतिका कारण आजसम्म काम पुरा हुन सकेको छैन।

कालोपत्रे भए पनि बिग्रेको छ सडक

कालोपत्रे भएको ३५ किलोमिटर खण्ड पनि सहज छैन।पहिरो र पानीको निकास नहुँदा भल सडकमा पस्ने गरेको छ।कतिपय ठाउँमा सडक नै हिलाम्य र खाल्डाखुल्डीमा परिणत भएको छ।कालोपत्रेको गुणस्तर कमजोर हुनुका साथै नियमित मर्मत सम्भार नगरेकाले छोटो समयमा नै सडकको अवस्था दयनीय बनेको स्थानीयको गुनासो छ।यस वर्ष निरन्तर वर्षासँगै पहिरो खस्दा सडक आवतजावतमा थप समस्या आएको छ।सडक साँघुरो भएकाले जहाँ पहिरो खस्छ, त्यहाँ सवारी साधन रोकिने र यात्रुले घण्टौंसम्म पर्खनुपर्ने अवस्था हुन्छ।यात्रुले जोखिम मोलेर यात्रा गर्नु परेको छ भने ठेकेदार कम्पनी फिल्डमै नभएकाले तत्काल पहिरो पन्छाउने काम गर्न गाह्रो हुने गरेको छ।

यसै हप्तामात्रै भूमे गाउँपालिका – ३ र ४ को सिमामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।ससडक पुनः सञ्चालनमा ल्याउन भूमे गाउँपालिकाले आफ्नै पहल गरेको हो।तर यो जिम्मा त राष्ट्रिय गौरव आयोजनाको कार्यालयले लिनुपर्ने हो।उता सो सडक हेर्ने जिम्मा लिएको कार्यालय भने स्थानीय सरकारकव मुख ताकेर बसेको छ।मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय दैलेखमा रहेको छ।तर सो कार्यालयले अवरुद्ध सडक खोल्नदेखि लिएर ठेकेदारको निगरानी गर्नसम्म कुनै चासो भने देखाएको छैन्।उल्टै सम्पर्क गर्न खोज्दा जिम्मेवार अधिकृतहरूको मोबाईल फोनसमेत अफ हुने गरेको प्रमाण तथ्य रहेको छ।

स्थानीय सरकारको मुख ताक्दै नागरिक

ठेकेदार कम्पनी फिल्डमा नभएकाले सडक खुलेर सवारी साधन सञ्चालनमा ल्याउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग हारगुहार गर्नुपर्ने बाध्यता भएको छ।यसले पनि आयोजना कार्यालयको कमजोरी र गैरजिम्मेवारीपन झल्काएको छ।स्थानीय सरकारले गाउँपालिका भित्र रहेका बस्तीहरुमा  ग्रामीण सडक सुचारु गर्ने र नयाँ सडक खोल्न ब्यस्त रहे पनि राष्ट्रिय गौरव आयोजनाहरुले गाउँपालिकालाई हस्तान्तरण काम ढिला सुस्तीको कारण गर्न सकेको छैन्। नागरिकले भने ठेकेदारको लापरबाही, आयोजनाको उदासीनता र सरकारको ढिलासुस्तीको मार खेप्नु परेको छ।लाखौं रुपैयाँ खर्चेर बनाइएको सडक हिलाम्य र खाल्डाखुल्डीमा परिणत हुँदा एकातिर सरकारको लगानी खेर गइरहेको छ भने अर्कोतर्फ नागरिकले राहतको साटो अझै बढी सास्ती भोग्नुपरेको छ।

रुकुमपूर्व खण्डमा रहेको राष्ट्रिय गौरव आयोजनाअन्तर्गतको मध्यपहाडी लोकमार्ग र सहिदमार्ग आजसम्म पनि अधुरो र अव्यवस्थित छ।ठेक्का पाएका निर्माण कम्पनीहरूले समयमै काम नगरेर आयोजना अलपत्र पारिरहेका छन् भने बनेका खण्डमा समेत गुणस्तरहीन काम, नियमित मर्मत–सम्भार नहुँदा सडक दयनीय अवस्थामा पुगेको छ।यसले सरकारको लगानी खेर गएको छ मात्र होइन, सर्वसाधारण नागरिकले सुरक्षित र सहज यातायात सुविधा पाउन नसक्दा दैनिक सास्ती भोग्न बाध्य छन्।पहिरो, हिलो र खाल्डाखुल्डीले यात्रु जीवन नै जोखिमपूर्ण बनेको छ।स्थानीय सरकार र जिल्ला प्रशासनले बेला–बेला पहल गरे पनि दीर्घकालीन समाधान त्यसरी सम्भव छैन।जबसम्म जिम्मेवार निकाय, आयोजना कार्यालय र ठेकेदार कम्पनीहरूले आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्दैनन्, तबसम्म मध्यपहाडी लोकमार्ग “राष्ट्रिय गौरव” होइन, “जनताको पीडा”को पर्याय बनेर रहने देखिन्छ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार