देउखुरी दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको सहकार्यबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ । मन्त्रीहरु र सचिबहरुको कुरा नमिल्दा जनताको काम हुन नसकेको दृष्टान्त आफुले नजिकबाट देखेको बताउनु हुँदै राजनीतिक नेतृत्वलाई सहयोग गर्नु कर्मचारीको दायित्व रहेको बताउनु भयो । २२ औं निजामती सेवा दिवसको अवसरमा आज लुम्बिनी प्रदेश स्तरीय मुल समितीले आयोजना गरेको दिवस समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले भन्नुभयो-” राजनीतिक नेतृत्वको जनतासंग गरेको प्रतिबद्धता हुन्छ उस्ले सोही अनुसार गर्न खोज्दछ , कर्मचारीले त्यसमा सहजीकरण गर्न नखोज्दा नेता र कर्मचारी बीच द्वन्द भएका पनि देखिन्छ, यस्तो अवस्था आउन दिनु हुँदैन समझदारीमा काम गर्नु पर्छ ।”
उहाँले कर्मचारी र राजनीतिक नेतृत्व बाझेर नभई मिलेर काम गर्दा मुलुकको लागि हितकर हुने बताउदै जनताको हितको काममा कर्मचारी प्रशासनले नेतृत्वलाई सहयोग गर्नु पर्ने बताउनु भयो । राजनीतिकमा चेन अफ कमान्ड कमजोर भएकाले अराजकताले प्रसय पाएको बताउनुहुँदै उहाँले राज्यको स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनमा पनि चेन अफ कमान्ड भत्किन लागेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । सभामुख घर्ती मगरले लुम्बिनी प्रदेशमा बनाईएको निजामती सेवा सम्बन्धि ऎनले कर्मचारीको वृत्ति बिकासमा टेवा पुर्याएको उहाँले बताउनु भयो ।
निजामती सेवा दिवस मनाउन प्रदेशमा गठन गरेको मुल समितिका संयोजक, प्रमुख सचिब बाबुराम अधिकारीको अध्यक्षतामा भएको समारोहलाई बन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलवार , युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे उर्जा , जलश्रोत तथा सिचाई मन्त्री सीता शर्माले सम्बोधन गर्नु हुँदै कर्मचारी प्रशासनलाई उत्तरदायी बनाउन दिवसले प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद अधिकारी , नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीका अध्यक्ष बामदेव शर्मा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने नौ जना कर्मचारीलाई सम्मान गर्ने नामावली सार्वजनिक गरिएको छ । प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले नामावली सार्वजनिक गर्नु भयो ।
उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इञ्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोजकुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।
यस्तै, कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो । यी पुरस्कार र सम्मानहरू संविधान दिवसका दिन प्रदान गरिनेछ ।
मूल समारोहमा विभिन्न समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै कर्मचारीहरूले आफ्ना सिर्जनात्मक प्रस्तुति पनि देखाइएको थियो । सो अवसरमा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सहभागीलाई नगद सहित सभामुख घर्ती मगरले पुरस्कार वितरण गर्नु भयो । यस अघि देउखुरीमा प्रभातफेरी गरिएको थियो । सभामुख घर्ती मगरले उक्त प्रभातफेरीमा सहभागी हुनुभई कर्मचारीहरुलाई हौसला दिनु भएको थियो ।
प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार











प्रतिक्रिया दिनुहोस्