यस वर्ष नेपालले ६१ औं राष्ट्रिय बाल दिवस मनाउँदैछ।बालबालिका दिवसको नारा छ। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी”।यो केवल एक नारामात्र होइन, राष्ट्र र समाजलाई भविष्यप्रतिको चेतावनी हो।किनकि हाम्रा आजका बालबालिका नै भोलिका नागरिक, नेतृत्वकर्ता, स्रष्टा र अभियन्ता हुन्।उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षित बाल्यकालमा गरिएको लगानी नै हाम्रो देशको भाग्यनिर्धारण गर्ने छ।तर प्रश्न उठ्छ ? के हामीले यो कुरा व्यवहारमा उतारेका छौं त ? अझै पनि हजारौं बालबालिका विद्यालयभन्दा टाढा छन्। कतिपयलाई रोजगारीको दबाब छ, कतिपय बालविवाहको शिकार छन्, कतिपय हिंसा र विभेदमा बाँचेका छन्।ग्रामीण भेगमा विद्यालय भए पनि शिक्षकको कमी, पाठ्यपुस्तक अभाव, आधारभूत पूर्वाधारको अभाव छ।शहरमा विद्यालय त छन् तर गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र समान पहुँचमा प्रश्न उठ्छ।
रुकुमपूर्व जस्तो जिल्ला अझै बालबालिकाको अवस्था सुधार्न संघर्षरत छ।यहाँका कतिपय गाउँमा विद्यालय टाढा छन्, बालबालिकाले घण्टौं पैदल हिँडेर पढ्न जानुपर्ने बाध्यता छ।गरिबीका कारण बालबालिका खेतीपाती वा घरायसी काममा व्यस्त हुन्छन्।कतिपय अवस्थामा उनीहरूको बाल्यकाल किताब र खेलकुदमा नभई श्रममा बित्छ।यी सबै चुनौतीले बालबालिकाको भविष्य मात्र होइन, सम्पूर्ण समाजको भविष्यलाई खतरामा पार्छ।
यस्तो अवस्थामा बालबालिकामा लगानी गर्नु भनेको केवल सरकारको काम होइन,सबै सरोकारवालाको साझा जिम्मेवारी हो।अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्छ।स्थानीय सरकार र विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ। स्वास्थ्य संस्था र समुदायले बालबालिकाको पोषण, स्वास्थ्य र मानसिक विकासमा ख्याल गर्नुपर्छ।अनि मात्रै बालबालिका आत्मविश्वासी, सशक्त र जिम्मेवार नागरिक बन्न सक्छन्।
राष्ट्रिय बाल दिवस केवल एक दिनको औपचारिकता होइन, यो वर्षभरि पालन गर्नुपर्ने प्रतिज्ञा हो।आज बालबालिकामा गरिएको लगानी भोली समृद्ध नेपाल निर्माणको आधारशिला हो। बालबालिका केवल घरको आशा मात्र होइनन्, उनीहरू राष्ट्रको मेरुदण्ड हुन्।बालबालिकामा लगानी गर्नु भनेको भविष्यमा गरिबी, अशिक्षा र असमानताको जरो उखेल्नु हो।हामी सबै अभिभावक, शिक्षक, नेता, समाजसेवी, पत्रकार र नीति निर्माताले बालबालिकाको पक्षमा एकजुट हुनैपर्छ।आज हामीले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र प्रतिभा विकासमा गम्भीर लगानी गरेनौं भने, भोली समृद्ध नेपालको सपना केवल कागजमा सीमित हुनेछ।तर यदि आजैबाट सचेत भयौं भने, हामीले हाम्रा बालबालिकाको मुस्कानमै उज्यालो भविष्यको किरण देख्न सक्नेछौं।
















प्रतिक्रिया दिनुहोस्