२०८३ कार्तिक १२ गते बुधवार

हजारौँ पुस्तक,तर पाठक शून्य



रुकुमपूर्वको भूमे गाउँपालिकाले २०७७ सालमा स्थापना गरेको पुस्तकालय आजसम्म पनि पाठकको पर्खाइमै छ।गाउँपालिकाका विभिन्न शाखामा हरेक दिन सेवाग्राहीहरूको भीड लाग्ने भए पनि पुस्तकालय भने प्रायः सुनसान छ।भूमे गाउँपालिका अन्तर्गत सूचना प्रविधि केन्द्रका सूचना अधिकृत जनक ओलीका अनुसार पुस्तकालयमा हालसम्म करिब १४ हजार १ सय ६९ थानभन्दा बढी पुस्तक छन्।तर स्थापना भएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि जम्मा २५ जनाले मात्र पुस्तक पढ्न घर लगेको तथ्यांक रहेको बताउनुभयो।

२०७७ सालमा गाउँपालिकाले स्थानीय बासिन्दामा पठन संस्कृति विकास गर्ने, विद्यार्थी तथा युवालाई ज्ञानसँग जोड्ने र स्थानीय बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको थियो।पुस्तक खरिद, कोठा व्यवस्था र सूचना प्रविधि पूर्वाधार बनाउन गाउँपालिकाले लाखौँ लगानी गरेको थियो।

पुस्तकालयमा लोकसेवाका गुरु, संवैधानिक तथा प्रशासनिक कानुन, सिकाइ सहयोग, उखान, इतिहास, भूमे गाउँपालिकाको भूगोल, कथा संग्रह, बाल साहित्य, कला साहित्य, जीवन स्मरण, राजनीतिक, धर्म तथा संस्कृति लगायतका हजारौँ पुस्तक छन्।यति धेरै विविधतायुक्त संग्रह हुँदाहुँदै पनि पाठक संख्या न्यून हुनु चिन्ताको विषय भएको ओलीले बताउनुभयो।

किन घट्यो पुस्तकालयप्रतिको आकर्षण ?

स्थानीयहरुका अनुसार प्रविधिको बढ्दो प्रयोग, सामाजिक सञ्जालमा समय बिताउने बानी, मोबाइल र इन्टरनेटबाट सजिलै जानकारी पाउने सुविधा लगायतका कारणले पुस्तकालयतर्फ आकर्षण घटेको छ।कतिपय युवाले पुस्तक पढ्नुभन्दा अनलाइन नोट र युट्युबको सामग्रीलाई प्राथमिकता दिने गरेको पाइन्छ।लगानी गरेर पुस्तकालय स्थापना गरिए पनि पाठक नहुँदा यसको उद्देश्य पूरा हुन सकेको छैन।गाउँपालिकाले गरेको लगानी धुलोमा गाडिने अवस्था आएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार