२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वमा चराचुरुङ्गीको चुनौतीपूर्ण अवस्था:फोटो फिचर 



लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा गरिएको अध्ययनले चराचुरुङ्गीको विविधता अत्यधिक धनी भएको देखाएको छ।वन विज्ञान अध्ययन संस्थानका विभूषण दाहाल र डिभिजन वन कार्यालय रुकुमपूर्वको टोलीद्वारा गरिएको अध्ययनले चराचुरुङ्गीको अवस्था, मानव गतिविधि तथा संरक्षणका उपायहरूबारे महत्वपूर्ण जानकारी प्रदान गरेको बताएको छ।अध्ययनका क्रममा फिल्ड सर्वेक्षण, विशेषज्ञ परामर्श, र परम्परागत ज्ञानसँगै आधुनिक प्रविधिको प्रयोग गरिएको डिभिजन वन कार्यालयको प्रमुख गणेशबहादुर खड्काले जानकारी दिनुभयो।रुकुमपूर्वमा ४७ परिवार र १६अर्डरका चराचुरुङ्गी फेला परेको खड्काले बताउनुभयो।सबैभन्दा बढी पासेरिफॉर्मेस अर्डरका चराचुरुङ्गी पाइएका छन्।९४ स्थायी प्रजाति, ३४ हिउँदे आगन्तुक, ३ गर्मी आगन्तुक र ६ बाटोमा बस्ने प्रजातिहरू भेटिएका छन्।

१३ सय देखि १८सय मिटर उचाइमा सबैभन्दा धेरै प्रजाति विविधता 3.763 र औसत ५.२३४ संख्या रहेको वन विज्ञान अध्ययन संस्थानका अनुशन्धानकर्ता विभूषण दाहाल बताउनुभयो।९सय ८५ देखि १३ सय  मिटरमा सबैभन्दा कम प्रजाति चराहरुले वासस्थान बनाएको दाहालले बताउनुभयो।

करिब ६ महिना गरेको अध्ययनले मानव गतिविधि र वातावरणीय परिवर्तनका कारण चराचुरुङ्गी संरक्षणमा चुनौतीहरू बढेको देखाएको छ।तापक्रम र वर्षा ढाँचामा आएको परिवर्तनले प्रवास र प्रजनन चक्रमा असर,हिमाल पग्लनु र वनस्पति आवरणमा भएको परिवर्तनले खाना र आश्रयमा कमी ,चराचुरुङ्गी गुँड नजिक मानवीय क्रियाकलाप बढ्नु,मिचाहा वनस्पति र जनावरसँग प्रतिस्पर्धा लगायतको चुनौतीहरु रहेको दाहाले बताउनुभयो।

रुकुमपूर्व चराचुरुङ्गीको धनी क्षेत्र भए पनि मानवीय क्रियाकलाप र वातावरणीय चुनौतीहरूले उनीहरूको आवास र जीवनमा प्रतिकूल असर पारिरहेका छन्।अध्ययनले लक्षित संरक्षण योजना, दिगो विकास रणनीति, र प्रवर्द्धन आवश्यक रहेको सुझाव दिएको छ।मानवीय गतिविधि र प्राकृतिक कारणका कारण चराचुरुङ्गी प्रजाति, प्रजनन र आहार स्रोत नै खतरामा परेको अनुसन्धानले औंल्याएको छ।मध्यपहाडी राजमार्ग निर्माण, बस्ती विस्तार, कृषि वृद्धिले जंगल टुक्रिँदै गएका छन्।यसले घाँसपात, गुँड बस्ने ठाउँ र आहारमा कमी ल्याएको छ भने सडक र सवारी चापका कारण आक्रामक वनस्पति लान्टाना र वनमाराले स्थानीय घाँसपात विस्थापित गरिरहेको अनुसन्धानकर्ता दाहालले बताउनुभयो।

फोटो फिचर 

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार