भूमे गाउँपालिका–९ चुन्वाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले विज्ञान दिवसको अवसर पारेर विभिन्न खेलकुद प्रतियोगिता, सार्वजनिक सुनुवाइ तथा अक्षयकोषदाता सम्मान कार्यक्रम आयोजना गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, संस्थापक उपाध्यक्ष मनकुमारी विष्ट, वडा अध्यक्ष विनोद वुढामगर, वडास्तरीय जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख, अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली लगायतको उपस्थिति थियो।
विद्यालयका अनुसार गत वर्ष ३२ लाख र चालु आर्थिक वर्षमा २१ लाख गरी करिब ५१ लाख रुपैयाँभन्दा बढी रकम अक्षयकोषका लागि संकलन भएको छ।सो अवसरमा विद्यालयका स्थापनाकालदेखि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ।
प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, शिक्षक र अभिभावक सबैको प्रयास जरुरी रहेको बताउनुभयो। उहाँले हालैको जेनजी आन्दोलनलाई सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा र भ्रष्टाचारविरुद्धको कदम भन्दै यसको उद्देश्य सरकार संरचना जलाउने नभएको स्पष्ट पार्नुभएकाे छ । आन्दोलनकाे दाउ थापेर धमिलो खाेलामा माछा मार्नेहरुले देश क्षतिग्रस्त अवस्थामा पुर्याएकाे बताउनुभएको छ।
विशेष अतिथि तथा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचार, बेथिति र विकृति अब जनताले सहन नसक्ने स्पष्ट सन्देश दिएको बताउनुभयो। उहाँले भन्नुभयो– गाउँपालिकाले शिक्षामा निरन्तर लगानी गर्दै आएको छ। विद्यालयमा अक्षयकोष स्थापना गर्न ठूलो सहयोग जुटाउनु दाताप्रति धन्यवाद प्रकट गर्दछु। युवाको जोशजाँगर देश बदल्ने आधार भएको उल्लेख गर्नुभएकाे छ।
विभिन्न राजनितक दलका प्रतिनिधिहरुले शुभकामना ब्यक्ति गर्नुभएको थियाे।उक्त कार्यक्रम विभिन्न झाकी समेत प्रस्तुत गरिएको थियाे।















प्रतिक्रिया दिनुहोस्