लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व।भौगोलिक रूपमा दुर्गम, तर संस्कृतिको धरोहरले भरिपूर्ण छ।जिल्लाको तीन गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा बसोबास गर्ने जनताका लागि हरेकपर्व केवल धार्मिक आस्थासँग मात्र सीमित हुँदैन।जीवनमा खुशी र सामूहिकताको भावनासँग पनि गाँसिएको हुन्छ।दशैँ, तिहार र छठजस्ता ठूला चाडबाडले गाउँघर रमाइलोले गुञ्जायमान हुन्छन्।तर यिनै चाडबाड बजारमा उपभोक्ताको लागि चुनौती र व्यापारीतर्फ लोभको अवसर बनेर आउने गरेको विडम्बना छ।देशैभर चाडबाड नजिकिँदा महँगी बढ्नु स्वाभाविक प्रक्रिया हो भन्ने बुझाइ बसालिएको छ।तर वास्तविकतामा यो स्वाभाविक भन्दा बढी कृत्रिम महँगी हो।व्यापारीहरूले उपभोक्ताको बाध्यतालाई अवसर मानेर मूल्य वृद्धि गर्ने, पुराना वा म्याद गुज्रेका सामान बेच्ने, नापतौलमा अन्याय गर्ने प्रवृत्ति सामान्य झैँ देखिन्छ। ग्रामीण र दुर्गम जिल्लामा त यो अझै चर्को रहेको छ।यस्तो बेला “बजार अनुगमन कहिले ?” भन्ने प्रश्न अत्यन्त प्रासंगिक बनेको छ।बजार अनुगमन भनेको व्यापारीलाई आतंकित पार्ने होइन, बरु बजारलाई स्वस्थ, न्यायपूर्ण र पारदर्शी बनाउन गरिएको प्रक्रिया हो।तर हाम्रो जिल्लामा अनुगमनको उपस्थिति प्रायः देखिँदैन।चाडबाड सकिएपछि मात्रै “औपचारिक” रूपमा टुंग्याइने गरिएको छ।उपभोक्ता पिडित भइसकेपछि अनुगमन गर्ने परम्परा कुनै पनि हिसाबले न्यायपूर्ण छैन।
नापतौल यन्त्रको परीक्षण, मासु पसलको सरसफाइ, उपभोग्य वस्तुको गुणस्तर परीक्षण, खाद्यान्नको भण्डारण स्थिति, मूल्य सूचीको अनुगमन यी सबै चाडबाड अघि नियमित रूपमा हुनुपर्ने कुरा हो। तर प्रायः अनुगमन ‘समाचारमा मात्र देखिने गरेको छ।उपभोक्ता अधिकार कानुनले सुनिश्चित गरेको भए पनि व्यवहारमा उपभोक्ता अझै असुरक्षित छन्।दुर्गममा अझै बढी छ।स्थानीय तहदेखि जिल्ला प्रशासन, उद्योग वाणिज्य कार्यालयदेखि प्रहरी प्रशासन सबैको साझा जिम्मेवारी हो कि ? उपभोक्तालाई सुरक्षित गराउने दायित्व।हामीले चाहेको बजार भनेको न व्यापारी पिडित होस्, न उपभोक्ता व्यापारीलाई पनि उचित नाफा लिन पाइयोस् तर उपभोक्ताले पनि आफ्नो श्रमको मूल्य बराबरको वस्तु पाउनु भन्ने हो।यसको लागि अनुगमन नियमित हुन जरुरी छ।
अन्तमा: रुकुमपूर्वका जनताले पनि काठमाडौँ वा अन्य शहरका उपभोक्ताजस्तै सुरक्षित बजार पाउने हक राख्छन्।त्यसैले, सम्बन्धित निकायसँग आग्रह छ।अनुगमन ढिला होइन, समयमै, नियमित र निष्पक्ष ढंगले गर्नुपर्छ।सम्पादकीय मण्डल भूमे साप्ताहिक टिम














प्रतिक्रिया दिनुहोस्