२०८३ बैशाख ५ गते शनिवार

तपाईंको दृष्टिमा युवाको मुख्य समस्या के हो ?



भिमकाजी पुनमगर भूमे -१ लुगुम

आजको पुस्ता सम्भावना, जाँगर र सिर्जनात्मकताले भरिपूर्ण छ।तर यही ऊर्जालाई सही बाटोमा प्रयोग गर्न नसक्दा युवा वर्ग अनेक समस्यामा अल्झिएको छ।अनुभव र स्थिर दृष्टिकोणको कमीका कारण उनीहरूमा अन्तर्द्वन्द्व र द्विविधा बढ्दै गएको छ।युवाको पहिलो समस्या आत्म–परिचय र लक्ष्यको अस्पष्टता हो। धरैजसो युवाले आफूले के गर्न सक्छु र के गर्न चाहन्छु भन्ने कुरा स्पष्ट निर्धारण गर्न सकेका छैनन्।हाम्रो शिक्षा प्रणाली अझै पनि व्यावहारिक भन्दा बढी सैद्धान्तिक भएकाले सीपलाई रोजगारीमा सीधै प्रयोग गर्न सक्ने अवस्था छैन।यस्ले बेरोजगारी बढाएको छ।जसको कारण धेरै युवा विदेश जान बाध्य भएका छन्।विदेशिने प्रक्रिया केवल आर्थिक मात्र नभई सामाजिक र भावनात्मक घाटा पनि हो।जहाँ परिवार टुट्छ, समाजमा सक्रिय युवाको कमी हुन्छ र राष्ट्रको विकासको गति ढिलो हुन्छ।

दोस्रो, दिशाहीनता र निराशाले युवालाई नशा, आक्रोश वा नकारात्मक गतिविधितर्फ धकेल्ने खतरा बढेको छ।अवसरको कमी र सामाजिक असमानताले उनीहरूमा अन्यायको पिडा थप बढाउँछ। सामाजिक सञ्जाल र चमक–दमकको प्रभावले युवालाई वास्तविकता भन्दा पनि कल्पनामा रमाउन बाध्य बनाएको छ, जसले व्यवहारिक जीवनलाई बिर्साउने अवस्था सिर्जना गरेको छ।तर समस्या मात्र छैन, समाधान पनि त्यत्तिकै सम्भव छ।युवा आफैंले अनुशासन, धैर्यता र आवश्यक सीप हासिल गरी संघर्ष गर्न सके, कुनै पनि चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छन्।त्यस्तै, राज्यले युवालाई रोजगारी, उद्यमशीलता र नवीनतम सीप विकासका लागि प्रभावकारी नीति ल्याउनुपर्छ।परिवार र समाजले पनि मार्गदर्शन, हौसला र सकारात्मक समर्थन दिनुपर्छ।अन्ततः, युवा के हुन् र के होइनन् भन्ने प्रश्नको उत्तर हालैको सेप्टेम्बर ८ मा देखिएको जेन–जी आन्दोलनले नै दिएको छ।त्यसैले, मेरो निष्कर्ष स्पष्ट छ।युवाको मुख्य समस्या अवसर र दिशाको अभाव हो।तर यदि यही ऊर्जालाई सही बाटोमा प्रयोग गर्न सकियो भने, युवा मात्र होइन, समग्र राष्ट्र नै नयाँ उचाइमा पुग्न सक्छ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार