२०८३ बैशाख ५ गते शनिवार

विद्यालयमा नास्ता, किसानलाई अनुदान  



रुकुमपूर्वको भूमे गाउँपालिका –३ मा केही वर्षयता विद्यालयका विद्यार्थी र स्थानीय किसानको जीवनशैलीमा सकारात्मक परिवर्तन देखिएको छ।यस परिवर्तनको पछाडि नेपाल सर्वाङ्गिण विकास समाज को निरन्तर पहल रहेको छ।२०७८ सालदेखि सक्रिय संस्थाले विद्यालयमा पौष्टिक नास्ता वितरणदेखि लिएर किसानलाई कृषि अनुदानसम्मको कार्यक्रम सञ्चालन गर्दै आएको छ। अहिले यो अभियान गाउँकै चर्चित र अनुकरणीय बनेको छ।

वडा नम्बर -३ को ४ वटा  विद्यालय नमुना आधारभूत विद्यालय, तक्सार आधारभूत विद्यालय, शहिद शुक्र माध्यमिक विद्यालय र शहिद वासु स्मृती विद्यालयमा विद्यार्थीले हरेक दिन गुणस्तरीय नास्ता पाउने गरेका छन्।संस्थाले हप्तामा ६ दिन ६ किसिमका पौष्टिक परिकार उपलब्ध गराउँदै आएको हो।विद्यालयमा नास्ता पकाउनेलाई तालिमसहित मासिक तलबसमेत उपलब्ध गराउने गरिएको छ।यसले स्थानीय महिलालाई रोजगारी मात्र दिएको छैन, विद्यार्थीलाई स्वस्थ रहन र विद्यालयप्रति आकर्षित गर्न पनि मद्दत गरेको तक्सार आधारभूत विद्यालय  प्रधानाध्यापक होमजङ राणा मगरले बताए।

यस्तै शहिद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल आचार्य अनुसार “नियमित खाजा कार्यक्रमका कारण विद्यार्थीको उपस्थितिमा उल्लेख्य वृद्धि भएको छ।साथै, किशोरीहरूको व्यक्तित्व विकास र विद्यालयमा आवश्यक सामग्री प्राप्त गर्दा पढाइमा थप उत्साह देखिएको छ। सन्तुलित भोजन नास्ताले विद्यार्थी स्वस्थ र नियमित बनेका छन्।विद्यालय पोशाकदेखि पिउने पानी धारा निर्माणसम्मका सहयोगले विद्यालयलाई ठुलो राहत पुगेको आचार्यले बताए।

विद्यालयमा नास्ता मात्र नभई किशोरी सशक्तिकरणका कार्यक्रम पनि सञ्चालित छन्।प्रत्येक ६–६ महिनामा किशोरीलाई जीवनदक्षता तालिम, करेसाबारी बनाउन सिकाउने, शैक्षिक सामग्री वितरण गर्ने जस्ता कार्य हुँदै आएका छन्।

सो संस्थामा कार्यरत कर्मचारी पुर्णबहादुर सुनार भन्छन्।किशोरीलाई किताब बोक्ने झोला, पोशाक, कापी, सरसफाइ सामग्री उपलब्ध गराएका छौं।यस वर्ष त ४ वटा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोशाक वितरण गरियो।” यससँगै विद्यालयलाई साउन्डबक्स (स्पिकर) पनि उपलब्ध गराइएको छ, जसले विभिन्न शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाएको छ।नेपाल सर्वाङ्गिण विकास समाजले गाउँका किसानलाई पनि आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा थुप्रै कार्यक्रम सञ्चालन गरेको सुनारले बताए।२४ किसानलाई बुङ्गुरको खोर, ७४ किसानलाई बाख्राको खोर,६ किसानलाई कुखुराको खोर, ८३ किसानलाई फलामे टनेल र करिब २५ किसानलाई साधारण टनेल सँगै नर्सरी निर्माण, बिरुवा रोप्ने तरिका, कम्पोस्ट र झोल मल बनाउने तालिम समेत प्रदान गरिएको सुनारले बताए।

बेला–बेलामा आवश्यक तालिम र बीउबिजन पाउँदा कृषि गर्ने उत्साह थपिएको छ।फलामे र साधारण टनेल पाएपछि तरकारी खेतीमा उत्पादन बढेको भूमे -३ क्याङ्सीका कृषक भान्देउ रोकाले खुसी हुदै बताए।

बाख्राको खोर बनाउन जस्ता पाता सहयोग पाइयो।थपमा ४ जोडी बोयर जातका बाख्रा वडामा अनुदानमा आएको छ, जसबाट हामी किसान निकै प्रेरित भएका छौं बाख्रा पालक कृषक झुलप्रसाद गुरुङले भने।त्यस्तै, बुङ्गुर पालक कृषक जमुना पुनले खोर निर्माणका सामग्रीसँगै पाथा पाएको अनुभव सुनाइन्।नेपाल सर्वाङ्गिण विकास समाजले यी कार्यक्रमहरू युएसएको सहयोगमा सञ्चालन गर्दै आएको हो।संस्था अहिले रुकुमपूर्वसँगै सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा समेत क्रियाशील रहेको छ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार