२०८३ बैशाख ५ गते शनिवार

भगवती मन्दिर पाखागाँउको इतिहास



   डिकेन्द्र शाह

दशैं भन्ने शब्द नै सुन्दा लाग्छ, मनमा उमंग हर्ष उल्लास बिजय शक्तिको रस्वादन हुने गर्दछ। आ–आफ्ना ठाउँ गाउँमा आफ्ना ढंगका मन्दिरहरु रहेका छन्।यस शिलशिलामा अलि अपायक पर्ने वा वेवास्तामा पारिएको एउटा शक्तिपिठ भगवती मन्दिर रहेको छ।त्यो हाव सिस्ने गाउपालिका वडा. नं.–६ रुकुमकोट पाखागाँउमा पर्ने भगवति मन्दिर।

यस मन्दिरको स्थापना वि.सं. १८३२ सालमा कालिकोट मान्मा खाडाँचक्र रास्कोटबाट आउनुभएका रास्कोटी शाही ठकुरी करु शाही र बिजु शाहीले गर्नूभएको थियो।उहाँहरु कालिकोटबाट साविक रुकुम जिल्लामा विभिन्न व्यापार व्यवसायको शिलशिलमा आउने क्रममा साविकको कोल–तकसेरा तिर घुम्दै गर्दा हेमन्त क्रतको समयमा हिँउ परेर रिकाको लेकबाट केही भाईहरुले यतापट्टी पार गरी काक्रीँ तिर आई आफ्नोघर कालिकोट गएको र दु्ई भाई करु र विजु शाही पछाडि आउँदै गर्दा धेरै हिउँ परेर लेक पार गर्न नसकी क्यूबाङ हुदैँ गर्खानीमा बसेको इतिहास रहेको छ।

गर्खानीमा बसेपछि उहाँहरु दुई भाई फर्केर कालिकोट जाने प्रयास गर्नू भएन यहीँ बस्ने निर्णय गर्नु भएछ।उहाँहरु देवी भगवतीका केही हात हतियार तरबार खड्क शङ्क, घण्टी आफैसँग रहेका थिए।यहीँ पुजापाठ शङ्क ध्वनी गर्ने चलन चलाउदैँ गर्दा रुमुमकोटका राजालाई जानकारी भएछ, त्यसपछि अब यिनीहरुले यताको क्षेत्र कब्जा गर्छन् कर,तिरो उठाएर राज्य गर्छन् भन्ने सन्देहले गर्खानीमा गई कुराकानी गरी रुकुमकोट जान अनुरोध गरी मल्लकी छोरी विवाह गरि दिएर अहिलेको पाखागाउँमा बसोबास गराएको बुद्धिजिवी जानकारको भनाइ रहेको छ ।

पाखाँगाउँको जुम्लीडेरा भन्ने पनि छ।यो भगवती मन्दिरको स्थापना गरी पुजापाठ भाईबन्दुहरुले मान्ने चलन थियो।दशैँमा ब्राहमण बाहुनठानाका केशर उपाध्याय,कृष्ण उपाध्याय ,कवि मणिराम गौतम त्यस्तै बाजामा रुमालबाराका बलजित दमाई र ठकुरी दाजुभाईहरुबाटै उपासु बसी दशैँ धुमधाम मान्ने चलन थियो।सानोठाउँ विभिन्न समय परिस्थिति ले गर्दा अब सबै गाउँका दाजुभाई समेटीएर जानुपर्छ भन्ने हेतुले वि.सं. २०३१ सालमा गाउँ सबैलाई समेटेर भगवती मन्दिर सौरीखोला स्थिति पधेरीको माथि झुपलाल बोहराले दान गर्नूभएको जग्गामा भगवती मन्दिर स्थापना गरिएको थियो।त्यो बेला देखि गाउँका सबै दाजुभाई दिदीबहिनीहरु आमाबुबाहरु मिलेर दशैँ मनाउँदै आइएको छ।

यस मन्दिरमा प्रेम बहादुर शाही,केशव शाही र नन्दबहादुर शाहीका अनुसार दाहिने शङ्क, चादीँका मुर्ति, कृष्णको मर्ति,देवीको मुर्ति भएको समयको कुनै काल खण्डमा हराएको भन्ने भनाई रहेको छ।पुर्खाहरुले बहुमल्य पुजाका सामानहरु गुमाएको र सामान्य सामानहरु रहेको अवस्था छ।प्रत्येक वर्षे मन्दिरमा घटस्थापना दिनदेखि पुजापाठ सुरु गरेर देवीको फुलपाती,बोका रांगा कुपिण्डाको बली दिएर धुमधामसाथ देवी विसर्जन गर्ने गरिन्छ।साथै गाउँमा विवाहबरु,जन्ही धारण गर्दा पनि यस मन्दिरमा गर्ने चलन रहेको छ।रुकुमकोटको छेउमा पर्ने पखेरा प्रकृतिमा सजीएको एक महत्वपुर्ण शक्तिपिठ हो भगवती मन्दिर।तर स्थानीय सरकारमा आउने प्रमुखहरुको ध्यान यस मन्दिरमा नगएको जस्तो स्थानिय सरकारमा आउने प्रमुखहरुको ध्यान यस मन्दिरमा नगएको, जस्तो स्थानीय पाठ्यक्रममा धर्म संस्कृति पाठमा पनि यसलाई नसमेटेको तथ्य रहेको छ।त्यसैले गर्दा यो मन्दिर पनि ऐतिहासिक रुपमा बलियो भएको सांस्कृतिक धरोहर हो।मान्छेहरु मुखतिरको भाग मात्रलाई बढी मू्ल्य दिने गरेको पाइन्छ।त्यसो नगरी कुनाकन्दराका संस्कृतिको पनि अध्ययन,अनुसन्धान गर्नुपर्ने हुन्छ।सो कारणले पनि यसको संरक्षण र सम्र्बद्धन गर्न गाउँपालिका सरकार,वडा सरकार साथै स्थानिय समुदायको महत्वपूर्ण भूमिका रहन्छ।जसले स्थानीय,आन्तरिक पर्यटनमा पनि प्रर्बद्धन गर्न सकिन्छ।

आजभोली यो भगवती मन्दिर पाखागाउँमा डाडाँगाउँ,ढकलबारा,रुलीखोला,डाङ्चा विभिन्न टोलहरुबाट करिब २९२ भन्दा बढी घरधुरी प्रत्यक्ष सहभागिता हुने गरेको छ।विशेष गरी वडा दशैँको बेला ब्राहमणमा मणिराम गौतमको निधनपछि पाखागाउँकै हेमलाल शर्मा,बाजामा ढकलबाराका राम बहादुर दमाई,पूर्ण बहादुर नेपाली,तरबार,खड्क जब्ने तथा निर्माणमा गङ्ग बहादु्र बिश्वकर्मा र उपासु बस्दा सबै टोलहरुबाट पालो अनुसार रहने नियम बनाइएको छ। गाउँभरि न्यूनतम् फाँट उठाएर रागो,बोका,कुपिण्डाको बली दिने र मन्दिर व्यवस्थापनमा खर्च हुने भगवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पे्रम बहादुर शाही जानकारी दिनुहुन्छ। मन्दिरमा कसैलाई पनि विभेद नभएको, सबैलाई समान,लोकतान्त्रिक व्यवहार रहेको छ।अन्त्यमा यो लेखकका तर्फबाट नेपालीहरुको महान पर्व वडा दशैँ २०८२ को पावन अवसरमा सम्पूर्ण यस गाउँ,समाज रुकुमकोट देश तथा विदेशमा रहनुभएका आफन्तजन,इष्टमित्र,नेपाली दाजुभाई,दिदीबहिनीहरु,आमाबुवाहरु सबै सबैमा नवदुर्गा भवानी,देवी माताले सबैको भलो कल्याण गरुन! निधारमा टिका,केशमा जमरा सिउँरे सुन्दर पहिरणमा आफुभन्दा ठुला मान्यजनबाट आर्शिवाद लिनुहोस्,हँसिलो मुहार खुशीसाथ यसपालीको वडादशैँ मनाउनुहोस्, भनी सबैलाई उन्नती प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु।

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार