२०८३ साउन १३ गते बुधवार

भारी वर्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयद्वारा ११ बुँदे विपद् निर्णय



असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, रुकुमपूर्वले विपद् व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न गरेकाे छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारकाे अध्यक्ष्तामा बसेको बैठकमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, जिससका निमित्त समन्वय अधिकारी रबिन्द्र बुढाक्षेत्री , नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली , सह-सचिव बिरस थापा, तीनवटै तहका सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ–संस्था तथा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता थियो।बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ११ बुँदे निर्णय गरेको छ।

लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरिएकाेले नागरिकहरूलाई अत्यावश्यक बाहेक दिनरात यात्रा नगर्न जनचेतनामूलक सूचना प्रसारण गर्ने बताएको छ। मध्यपहाडी लोकमार्ग, शहीद मार्ग तथा भित्री सडकहरूमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ।

संभावित सडक अवरोध र पहिरोका घटनामा छिटो प्रतिक्रिया जनाउन तीनवटै स्थानीय तहले डोजर, एक्साभेटर, लोडरलगायतका उपकरणहरू चालकसहित स्ट्यान्डबाइ अवस्थामा राख्न निर्देशन दिएकाे प्रजिअ परियार बताए । मध्यपहाडी लोकमार्गमा अवरोध भए एक्साभेटर प्रयोग गरी खोलिनेछ भने भित्री सडक स्थानीय तहकै जेसिभी प्रयोग गरी सफा गरिने परियारले बताए ।

जोखिमयुक्त बस्तीहरूमा स्थानीय विपद् व्यवस्थापन समिति तथा प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ। बाढी–पहिरोबाट हुन सक्ने जोखिम र सतर्कताबारे स्थानीय सञ्चार माध्यममार्फत सूचना प्रसारण गर्न अनुरोध गरिएको छ। साथै, जिल्ला सुरक्षा समितिका पदाधिकारी रहने गरी जिल्ला विपद् व्यवस्थापन कमाण्ड पोष्ट स्थापना गरिने निर्णय भएको छ।

विपद्का समयमा मानवीय क्षति न्यून पार्न तीनवटै स्थानीय तह र जिल्ला अस्पतालका एम्बुलेन्सहरू चालु अवस्थामा राखी चालकलाई स्ट्यान्डबाइमा राखिने व्यवस्था गरिएको छ। जिल्ला विभिन्न साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वयमा रही सतर्क रहन अनुरोध गरिएको छ।

बैठकले विपद् जोखिम न्यूनीकरणका लागि अग्रिम तयारी, सूचना प्रवाह, सतर्कता र समन्वयलाई प्राथमिकतामा राख्ने बताईएकाे छ। नागरिकहरूलाई पनि अनावश्यक यात्रा नगरी सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार