२०८३ साउन १४ गते बिहिवार

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीको तयारी तीव्र छ : संगीत भट्ट




सशस्त्र प्रहरी बल रुकुमपूर्वका प्रमेख संगीत भट्ट

देशका विभिन्न स्थानहरूमा भइरहेका विपदजन्य घटनाहरूलाई मध्यनजर गर्दै रुकुम पूर्वमा सशस्त्र प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि जनशक्ति तथा उद्धार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।

जिल्लामा विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीले कस्तो तयारी गरेको छ ?

सशस्त्र प्रहरीका अनुसार हाल देशका विभिन्न स्थानहरूमा भइरहेका विपदजन्य घटनाहरूलाई ध्यानमा राखी जिल्लामा पनि हुनसक्ने विपदको सामना गर्नका लागि आवश्यक जनशक्ति तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ।“हामीसँग रहेका विपद व्यवस्थापनका उद्धारका सामानहरू सहित जनशक्तिलाई तुरुन्त परिचालन गर्न सकिने गरी तयारी हालतमा राखेका छौं।विपद् व्यवस्थापन तालिम प्राप्त ६ जना सहित अन्य १९ जना गरी २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उद्धार टिमको रूपमा कार्यालय परिसरमा स्यान्डबाई राखिएको छ।त्यसैगरी, सशस्त्र प्रहरी बलका आश्रित गुल्म रुकुम पूर्वसहित अन्य कार्यालयहरूमा जलजन्य प्रकोपका घटनामा खोज तथा उद्धार कार्य गर्न सकिने आधारभूत उपकरणहरू चौबिसै घण्टा तयारी अवस्थामा राखिएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय तथा प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसँग समन्वय गरी तालिम प्राप्त जनशक्तिहरू आवश्यकता अनुसार परिचालन गरिएको छ। यसले सूचना प्रवाह र उद्धार परिचालनलाई सहज बनाएको छ।

दुर्गम क्षेत्रमा उद्धार गर्दा मुख्य चुनौती के–के पर्न आउँछ ?

सशस्त्र प्रहरीका अनुसार दुर्गम क्षेत्रमा उद्धार कार्य सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती बाटोघाटो नै हो।“विपद् हुँदा सबैभन्दा बढी असर यातायातका साधन र बाटोघाटोमा पर्न जाने भएकाले दुर्गम क्षेत्रमा उद्धार टोली परिचालन गर्न निकै कठिनाइ हुन्छ।यद्यपि, उद्धार कार्यमा खटिनका लागि सशस्त्र प्रहरी बलका जनशक्ति र सामग्रीहरू सधैं तयारी अवस्थामा राखिएको छ।

उद्धारका लागि सामाग्री पर्याप्त छन् ?

हामीसँग विपद् व्यवस्थापन तालिम प्राप्त ६ जना सशस्त्र प्रहरी कर्मचारी र अन्य १९ जना गरी २५ जनाको टोली तयारी अवस्थामा छ।उपलब्ध सामग्रीलाई अधिकतम प्रयोग गरी उद्धार तथा विपद् व्यवस्थापन कार्यमा खटिने तयारी गरिएको छ।हामीले जिल्लामा विपद् व्यवस्थापनका लागि पूर्व तयारीलाई निरन्तर बलियो बनाएकाे छाैं। विपद् आइपर्नेबित्तिकै तालिमप्राप्त जनशक्ति, उपकरण र सामग्री परिचालन गरी जनधनको क्षति न्यूनीकरण गर्न सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्दछाैं।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार