भूमे गाउँपालिकामा असोज २६ गतेदेखि कार्तिक १७ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको आयोजना तथा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ रोल्पाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो।
शिविर भूमे गाउँपालिकाका सबै ९ वटै वडाका विभिन्न गाउँवस्तीहरूमा सञ्चालन हुने जनाइएको छ। स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सञ्जीप खड्काका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षणका साथै मोतिविन्दु रोगी छनोट, निःशुल्क औषधि वितरण, चस्मा परीक्षण तथा आँखा सम्बन्धी सम्पूर्ण स्वास्थ्य जाँच गरिने भएको हाे।
गाउँपालिकाभरका नागरिकलाई आँखा स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले यसपटक ९ वटै वडामा शिविर सञ्चालन गर्न लागिएको हो,” निरीक्षक खड्काले बताउनुभयो ।
शिविरमा मोतिविन्दु पत्ता लागेका बिरामीको कार्तिक १९ र २० गते रोल्पा जिल्लाको थवाङमा शल्यक्रिया गरिने भएको छ।भूमे गाउँपालिकाले स्थानीयवासीलाई तोकिएको मिति र स्थानअनुसार शिविरमा उपस्थित भई आँखा स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।











प्रतिक्रिया दिनुहोस्