२०८३ साउन १३ गते बुधवार

रुकुम पूर्वको महतमा सुपथ मूल्य पसल सञ्चालन



रुकुमपूर्वको भुमे गाउँपालिका–६ महतमा शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा उपभोक्ता हित संरक्षण निर्देशनालय तथा घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वी भागको सहयोगमा “पावल एण्ड एन्जल स्टोर” परिसरमा सस्तो पसल सञ्चालन गरिएको हो।

भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा मगरले व्यानर पढेर पसलको उद्घाटन गर्नुभयो। स्थानीय नागरिकलाई दैनिक उपभोग्य सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित सुपथ मूल्य पसल सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख भोला प्रसाद शर्माले बताउनुभयो।

उनका अनुसार गाउँघरमा खाद्यान्न आपूर्तिमा सहजता ल्याउन महतमा सहुलियत पसल खोलिएको हो। अब छिट्टै सिस्ने गाउँपालिका–२ नायगाड र पुथा उत्तरगंगा गाउँपालिका कोलमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने तयारी गरिएको छ।

सस्तो पसलमार्फत मसिनो चामल, मोटो चामल, विभिन्न दाल, सन्फ्लावर तेल, चिनी, नुन र आटा पिठो छुट मूल्यमा बिक्री वितरण गरिनेछ। उदाहरणका लागि, मसिनो चामल प्रतिकिलो ९० रुपैयाँ, मोटो चामल ५४ रुपैयाँ, मास दाल १७० रुपैयाँ, मसुरो दाल १४० रुपैयाँ, सन्फ्लावर तेल प्रतिलिटर २३० रुपैयाँ, चिनी ९५ रुपैयाँ, नुन २५ रुपैयाँ र आटा पिठो ५२ रुपैयाँमा उपलब्ध हुनेछ।

उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका प्रमुख भोला प्रसाद शर्मा, भुमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा मगर, वडा अध्यक्ष विक्रम पुन मगर, अस्थायी प्रहरी पोस्ट महतका प्रहरी सहायक निरीक्षक तुल्सिराम चौधरी, नायब सुब्बा सन्तोष मल्ल, अध्यक्ष शुवर्ण सुनार, सञ्चालक सावित्रा बुढा मगर लगायत सरोकारवालाहरूको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन नायब सुब्बा सन्तोष मल्लले गर्नुभएको हो। कार्यक्रममा सुपथ मूल्य पसलको उद्देश्य र योजनाबारे जानकारी दिइएको थियो।यसैबीच, घरेलु तथा साना उद्योग कार्यालयले भुमे गाउँपालिका–६ महत र भुमे गाउँपालिका–२ खाबाङबगरका साना, मझौला तथा ठूला उद्योगहरूको अनुगमन तथा निरीक्षण समेत गरेको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार