२०८३ बैशाख ५ गते शनिवार

इलाका प्रहरी कार्यालय चुनवाङद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न



समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय चुनवाङले शुक्रबार “नागरिक सुनुवाइ” कार्यक्रम सम्पन्न गरेको छ।शनिबार आयोजना गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजका अगुवाहरू, विभिन्न क्षेत्रका सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रम इलाका प्रहरी कार्यालय चुनवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक मोहन कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा भूमे गाउँपालिका –९ का वडा अध्यक्ष बिनोद बुढा प्रमुख अतिथि तथा गाउँ कार्यपालिका सदस्य भागीलाल दमाई विशेष अतिथि रहनुभएको थियो।कार्यक्रममा रेडियो पूर्वी रुकुमका अध्यक्ष लालबहादुर बिष्ट, राजनीतिक दलका प्रतिनिधि, वित्तीय संस्था, समाजसेवी, बुद्धिजीवी, आमा समूह, युवा क्लबका सदस्यलगायत करीब ४१ जना स्थानीयवासी सहभागी रहेका थिए।

कार्यक्रमका अध्यक्ष प्रहरी निरीक्षक खड्काले आफ्नो जिम्मेवारी क्षेत्रभित्रको शान्ति–सुरक्षा अवस्था, अपराधका घटनाक्रम, र चालु आर्थिक वर्षमा देखिएका अपराधका अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको हो।उहाँले नागरिकका प्रश्न, सुझाव र गुनासाहरू सम्बोधन गर्दै समुदाय र प्रहरीबीचको सहकार्यले मात्र प्रभावकारी अपराध नियन्त्रण सम्भव हुने बताउनुभयो।

निरीक्षक खड्काले समुदायस्तरमा देखिने आपराधिक क्रियाकलाप न्यूनीकरण तथा रोकथामका लागि इलाका प्रहरी कार्यालय सधैं तत्पर र प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।साथै, आगामी शुभदिपावली र छठ पर्वलाई दृष्टिगत गर्दै नागरिकले शान्त र भयरहित वातावरणमा चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यका साथ विशेष सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति परिचालन गर्ने जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन पृथक हिमाल ओलीले गर्नुभएको थियो।इलाका प्रहरी कार्यालय चुनवाङले यस्ता नागरिक सुनुवाइ कार्यक्रमलाई समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार