
रुकुमपूर्वको भूमे गाउँपालिकामा आईतबारदेखि निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु भएको छ। आज २६ गते आईतबारदेखि कार्तिक १७ गतेसम्म सञ्चालन हुने उक्त शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले रिवन काटेर गर्नुभयो।गाउँपालिकाले यसपटक आँखा स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिँदै गाउँ–गाउँसम्म सेवा पुर्याउने उद्देश्यले व्यापक अभियान सञ्चालन गरेको हो।
शिविर गाउँपालिकाको आयोजनामा र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ (रोल्पा) को सहआयोजनामा सुरु गरिएको हो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले कार्यक्रमको समन्वय गरेको छ।स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शिविरमार्फत गाउँपालिकाका सबै ९ वटै वडाका बस्तीहरूमा पुगेर निःशुल्क आँखा परीक्षण, मोतिविन्दु रोगी छनोट, निःशुल्क औषधि वितरण, चस्मा परीक्षण तथा आँखा सम्बन्धी सम्पूर्ण स्वास्थ्य जाँच गरिनेछ।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले आँखा स्वास्थ्य सेवामा गाउँपालिकाले विशेष पहल थालेको बताउनुभयो।उहाँले स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै गाउँपालिकाले प्राथमिक स्वास्थ्य सेवालाई गाउँ–गाउँमा पुर्याउने दीर्घकालीन योजना अघि सारेको जानकारी दिनुभयो।“गाउँका नागरिकले आँखा रोगका कारण अन्धकारमा बस्नुपर्ने अवस्था अब रहँदैन,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।“आँखा स्वास्थ्य संवेदनशील क्षेत्र हो।समयमै परीक्षण र उपचार नहुँदा स–साना समस्या गम्भीर बन्ने गरेका उदाहरण धेरै छन्।त्यसैले गाउँपालिकाले यो शिविरलाई अत्यन्तै प्राथमिकतामा राखेको छ।”
श्रेष्ठले नागरिकलाई तोकिएको मिति र स्थानअनुसार उपस्थित भई आँखा स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै सबै वडामा यो अवसर समान रूपमा पुग्ने आश्वासन दिनुभयो।उहाँले गाउँपालिकाले भविष्यमा पनि आँखा स्वास्थ्य लगायतका विशेष स्वास्थ्य सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिकले यस पटकको आँखा स्वास्थ्य शिविरलाई विगतका तुलनामा अझ व्यापक रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो।उहाँका अनुसार आँखा सम्बन्धी समस्यामा धेरैजसो ग्रामीण बासिन्दाले नियमित परीक्षण गर्न नपाउने र स्वास्थ्य संस्थामा पुग्न नसक्ने समस्या देखिएको हुँदा गाउँमै गएर सेवा पुर्याउने व्यवस्था गरिएको बताउनुभयो।नागरिकलाई स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्थालाई घटाउँदै सेवा उनीहरूकै घरआँगनमा पुर्याउने लक्ष्य गाउँपालिकाको रहेको बताउनुभयो।
शिविर भूमे गाउँपालिका वडा नं.–१ लुगुमबाट औपचारिक रूपमा सुरु भइसकेको छ।यसपछि क्रमशः वडा नं. २ देखि ९ सम्मका गाउँवस्तीहरूमा तालिका अनुसार शिविर सञ्चालन हुँदै जानेछ।वडाका जनप्रतिनिधि, महिला समूह, युवाहरू र सामुदायिक संस्थाहरूको सक्रिय सहयोगमा शिविरलाई सहज र प्रभावकारी बनाइने गाउँपालिकाले जनाइएको छ।
मोतिविन्दु रोग पत्ता लागेका बिरामीहरूको शल्यक्रिया कार्तिक १९ र २० गते रोल्पा जिल्लाको थवाङमा गरिनेछ। शल्यक्रियामा सहभागी हुने बिरामीलाई गाउँपालिकाले आवश्यक सहजीकरण, यातायात र औषधि–उपचारमा सहयोग पुर्याउने तयारी गरेको छ।
नागरिकले गाउँपालिकाले चालेको सकरात्मक कदम र शिविर गाउँमै सञ्चालन भएकोमा खुसी व्यक्त गरेका छन्।यसरी गाउँपालिकाले सुरु गरेको आँखा स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई समयमै परीक्षण, उपचार तथा आवश्यक परे शल्यक्रियाको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।
शिविरका क्रममा वडाध्यक्ष मनकाजी पुन, गाउँपालिका स्वास्थ्य शाखाका सन्जिप खड्का, समाजसेवी तथा युवा नेता चन्द्र रसाइली , विभिन्न राजनीतिक दल, समुदायका अगुवा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।














प्रतिक्रिया दिनुहोस्