रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ बागबजारका सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मंगलबार बिहान काठमाडौँमा मृत अवस्थामा फेला परेका छन्।
पुन राजधानीको सुन्धारास्थित रोयल थकाली होटलमा बसिरहेको अवस्थामा मृत भेटिएका हुन्। बिहान नउठेपछि होटलका कर्मचारीले कोठा हेर्दा मृत अवस्थामा फेला पारी परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।
उच्च रक्तचापका कारण स्वास्थ्य समस्या भोग्दै आएका पुनको निधन त्यही कारणले भएको आशंका गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१० बाछिगाउँ निवासी पुन लामो समयदेखि रुकुम पश्चिममै बसेर शैक्षिक क्षेत्रमा क्रियाशील थिए। मृतक पुनका एक श्रीमती, दुई छोरा र एक छोरी छन्।
प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार











प्रतिक्रिया दिनुहोस्