२०८३ कार्तिक १२ गते बुधवार

भूमे गाउँपालिकामा आँखा स्वास्थ्य शिविर निरन्तर



रुकुमपूर्वकाे भूमे गाउँपालिकामा असोज २६ गते आईतबारदेखि सुरु भएको निःशुल्क आँखा स्वास्थ्य शिविर निरन्तर सञ्चालन भइरहेको छ। गाउँपालिकाले गाउँ–गाउँसम्म सेवा पुर्‍याउने उद्देश्यले व्यापक अभियान सञ्चालन गरेको हो। शिविर कार्तिक १७ गतेसम्म सञ्चालन हुनेछ।

गाउँपालिकाको आयोजनामा र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ (रोल्पा) को सहआयोजनामा शिविर सञ्चालन भइरहेको हो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले कार्यक्रमको समन्वय गरेको छ।

स्वास्थ्य शाखाका अनुसार शिविरमार्फत गाउँपालिकाका ९ वटै वडाका बस्तीहरूमा पुगेर निःशुल्क आँखा परीक्षण, मोतिबिन्दु रोगी छनोट, औषधि वितरण, चश्मा परीक्षण तथा उपचार सेवा प्रदान गरिँदैछ।

शिविरको पहिलो चरणअन्तर्गत वडा नं. १, २ र ३ मा सेवा प्रदान गरिएको छ। वडा नं. १ लुगुममा महिला ४८, पुरुष ६४ ले सेवा लिएका छन्। तीमध्ये मोतिबिन्दु अपरेशनका लागि महिला ९ र पुरुष ८ जना छनोट भएका छन् भने ३४ जनाले चश्मा परीक्षण सेवा लिएका छन्।

त्यस्तै वडा नं. २ काक्रीमा महिला ५४, पुरुष ४५ ले सेवा लिएका छन्। तीमध्ये मोतिबिन्दु अपरेशनका लागि ९ जना महिला १, पुरुष ८ छनोट भएका छन् र २५ जनाले चश्मा सेवा लिएका छन्। वडा नं. ३ सिमामा महिला ५४, पुरुष ५२ ले सेवा लिएका छन्। मोतिबिन्दु अपरेशनका लागि ११ जना महिला २, पुरुष ९ छनोट भएका छन् भने ३३ जनाले चश्मा परीक्षण सेवा लिएका छन्।

भोली बुधबार वडा नं. ४ र ५ मा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जानकारी दिएको छ। बाँकी वडामा पनि क्रमशः स्वास्थ्य शिविर सञ्चालन गरिँदै जनाईएकाे छ।

गाउँपालिकाका स्थानीयवासीले गाउँमै निःशुल्क आँखा उपचार सेवा पाएकोमा खुसी व्यक्त गर्दै गाउँपालिकाको स्वास्थ्य पहलप्रति धन्यवाद दिएका छन्। वृद्धवृद्धा तथा दुर्गम बस्तीका बासिन्दाले लामो यात्रा नगरी गाउँमै गुणस्तरीय आँखा सेवा पाउनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

IMG_0952

 

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार