२०८३ साउन १४ गते बिहिवार

रुकुमपूर्वमा स्वास्थ्य सेवा सुधारका लागि वार्षिक समीक्षा सम्पन्न



समाचार सारांश
Generated Using AI
  • रुकुमपूर्व स्वास्थ्य कार्यालयले असोज २९ र ३० गते वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्दै जिल्लाभरका स्वास्थ्य सेवा, उपलब्धि र आगामी प्राथमिकताबारे समीक्षा गरेको छ।
  • कार्यक्रममा तीनवटै गाउँपालिकाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला र संघसंस्थाको सहभागिता थियो।
  • कार्यक्रममा स्वास्थ्य सेवाका चुनौती, सुधारका आवश्यकता र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

रुकुमपूर्व।स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य कार्यालय रुकुमपूर्वले असोज २९ र ३० गते दुई दिने वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा जिल्लाभर सञ्चालन गरिएका स्वास्थ्य गतिविधि, नागरिकले पाएका सेवाहरू तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत समीक्षा गरिएको छ।रुकुमपूर्वका तीनवटै गाउँपालिका भूमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाको स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, युवा बुद्धिजीवी, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले भौगोलिक विकटता र अशिक्षाका कारण जिल्लामा स्वास्थ्य सेवा विस्तार चुनौतीपूर्ण रहेको बताए।यद्यपि, स्वास्थ्यकर्मी र सरोकारवालाको सक्रियताले सेवा प्रवाहलाई सहज बनाएको भन्दै उनले सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।श्रेष्ठले गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए।साथै, तीनवटै गाउँपालिकाले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएको उल्लेख गर्दै संस्थागत समन्वयलाई बलियो बनाउनुपर्नेमा जोड दिएको बताए।

नेकपा (एस) का केन्द्रीय सल्लाहकार तिकाराम उपाध्यायले रुकुमपूर्व जस्तो हिमाली जिल्लामा पनि स्वास्थ्य क्षेत्रमा नियमित सेवा प्रवाह भइरहेको भन्दै स्वास्थ्यकर्मी र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे।उनले अपेक्षित गुणस्तरको स्वास्थ्य सेवा अझै पुरा नहुने अवस्था रहेको उल्लेख गर्दै सुधारका लागि निरन्तर प्रयास आवश्यक रहेको बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि सन्देश पौडेलले नेपाल सरकारका स्वास्थ्य कार्यक्रमहरूलाई व्यापक बनाउँदै लुम्बिनी प्रदेश सरकारले मातृ मृत्युदर घटाउने प्राथमिकता लिएको जानकारी दिए।रुकुमपूर्व भौगोलिक रूपमा विकट र हिमाली जिल्ला भएकाले विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै उनले मन्त्रालय तहबाट समस्या समाधानका पहल भइरहेको बताए।पौडेलले “भाषण र प्रतिबद्धता पर्याप्त भए पनि व्यवहारिक सुधार अझै अपेक्षित स्तरमा पुगेको छैन,” भन्दै नागरिकले भरपर्दो स्वास्थ्य सेवा पाउन अझै समय लाग्ने जनाए।

रुकुमपूर्व अस्पतालका निमित्त सुपरिन्टेन्डेन्ट डा. कृष्ण खरालले अस्पतालले गल्ती र कमजोरी सच्याउँदै नागरिकलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए।संघ संस्था तथा सरकारसँग सहकार्य गर्दै सेवा प्रवाहमा सुधार ल्याइरहेको उल्लेख गर्दै उनले नागरिकका गुनासाहरूलाई समाधान गर्न अस्पताल तत्पर रहेको जनाए।

नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बशन्त बाँठा मगरले जिल्लाका सक्रिय मिडियाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।उनले विभिन्न सरकारी निकायले मिडियाप्रति फरक दृष्टिकोण राख्ने गरेको उल्लेख गर्दै राज्य–मिडिया सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।मिडियाले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि उनले औँल्याएका छन्।

स्वास्थ्य कार्यालय रुकुमपूर्वले समीक्षा कार्यक्रममा तीनवटै गाउँपालिकाका उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।उत्कृष्ट कार्यसम्पादन गरी स्वास्थ्य सेवामा योगदान पुर्‍याउने स्वास्थ्यकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रमको समापन गर्दै स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पशुपति आचार्यले जिल्लाको स्वास्थ्य सेवा अझ गुणस्तरीय र जनमुखी बनाउन कार्यालय निरन्तर सक्रिय रहेको बताए।आगामी वर्ष योजनाबद्ध रूपमा स्वास्थ्य कार्यक्रमहरूलाई गाउँ–गाउँमा पु¥याइने उनले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार