समाचार सारांश
- रुकुमपूर्वको भूमे गाउँपालिका–९ डाडागाउँमा रहेको श्री मदन स्मृति आधारभूत विद्यालय देशकै पहिलो ‘शुद्ध दलित बस्ती’मा सञ्चालन भएको सरकारी विद्यालयका रूपमा स्थापित हुँदैछ।
- ६५ घरधुरी विश्वकर्मा समुदायले सञ्चालन गरेको विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म ५० विद्यार्थी अध्ययनरत छन्।
- जातीय समावेशिता, आत्मसम्मान र गुणस्तरीय शिक्षाको दृष्टिले यो विद्यालय राष्ट्रिय स्तरमै नमुना बन्दै गएको छ।
दलित बालबालिकाले पहिलोपटक आफ्नै गाउँमै आत्मसम्मानका साथ शिक्षा लिने वातावरण पाएका छन्।रुकुमपूर्वको भूमे गाउँपालिका–९ डाडागाउँमा रहेको श्री मदन स्मृति आधारभूत विद्यालय देशकै पहिलो ‘शुद्ध दलित बस्ती’मा सञ्चालनमा आएको सरकारी विद्यालयका रूपमा परिचित बन्दै गएको छ।डाडागाउँका ६५ घरधुरी सबै विश्वकर्मा (दलित) समुदायका हुन्।यही बस्तीमा रहेको विद्यालयले जातीय समावेशिता, सामाजिक पहिचान र शैक्षिक पहुँचको दृष्टिले दुर्लभ उदाहरण प्रस्तुत गरेको छ।
२०६४ सालमा सहादत प्राप्त जनमुक्ति सेनाका मदन सुनारको स्मृतिमा स्थापना गरिएको यो विद्यालयमा हाल बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ।गाउँमा अन्य कुनै जातिको प्रवेश छैन र विद्यालय पनि दलित समुदायकै सक्रियतामा सञ्चालन हुँदै आएको छ। प्रधानाध्यापक चेतराम नेपालीका अनुसार विद्यालयमा जातीय घुलमिल नभए पनि भेदभावको कुनै अनुभूति छैन।“यहाँका बालबालिकाले आत्मसम्मानका साथ पढ्न पाएका छन्, जुन अरू धेरै ठाउँमा सहज छैन,” उनले बताए।हाल विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् भने ४ जना शिक्षक (२ पुरुष, २ महिला) कार्यरत छन्।
विद्यालयमा शौचालय, पिउने पानी, छात्रवृत्ति, खाजा र पाठ्यपुस्तक पर्याप्त मात्रामा उपलब्ध छन्।विद्यार्थी अकेश सुनार र सनीता महर भन्छन्, “हामीलाई खाजा, छात्रवृत्ति र पुस्तक समयमै पाइन्छ, पढ्न सहज छ।” विद्यालयका संस्थापक अध्यक्ष पलबहादुर विकका अनुसार सुरुदेखि नै दलित बालबालिकाका लागि सुरक्षित र सहज शिक्षण वातावरण बनाउने प्रतिबद्धता रहँदै आएको छ।
बालविकास शिक्षिका एलिसा महरका अनुसार गाउँमा जातीय भेदभावको अनुभूति कहिल्यै भएको छैन, जसले विद्यार्थीहरूमा आत्मविश्वास बढाएको छ।शिक्षिका जीवनरेखा सुनार भन्छिन्,“शिक्षक, अभिभावक र समुदायबीचको सक्रियताले विद्यालयका धेरै समस्या समाधानमा सहयोग पुर्याएको छ।” गाउँपालिका कार्यपालिका सदस्य भागिलाल दमाईका अनुसार, विद्यालयले गुणस्तरीय शिक्षा दिन सके अन्य ठाउँका बालबालिकालाई पनि आकर्षित गर्ने क्षमता राख्छ।“राज्यले यस्ता विद्यालयलाई विशेष प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।
वडाध्यक्ष विनोद बुढाले विद्यालयमा शिक्षक अभाव, डेस्क–बेञ्च कमीजस्ता समस्या रहेको बताए।“पोषणका लागि अण्डा वितरण कार्यक्रम सञ्चालन भइरहेका छन्, पाठ्यक्रम सुधारतर्फ पहल भइरहेको छ, अझ नयाँ योजना ल्याउने तयारी छ,” उनले जानकारी दिए।
श्री मदन स्मृति आधारभूत विद्यालय जातीय समावेशिता, सामाजिक न्याय र शिक्षामा पहुँचका दृष्टिले राष्ट्रिय स्तरमै अनुकरणीय नमुना बन्दै गएको छ। य विद्यालयलाई थप स्रोतसाधन र नीतिगत प्राथमिकता दिइएमा दलित बस्तीहरूमा गुणस्तरीय शिक्षाको नयाँ ढोका खुल्ने सम्भावना देखिएको छ।














प्रतिक्रिया दिनुहोस्