समाचार सारांश
- भूमे गाउँपालिकामा असोज २६ गतेदेखि सुरु भएको निःशुल्क आँखा स्वास्थ्य शिविरअन्तर्गत हालसम्म ७ वडाका ६७१ जनाले सेवा लिएका छन्।
- मोतिबिन्दुका ७३ बिरामी अपरेशनका लागि छनोट भएका छन् भने सयौँले चश्मा परीक्षण गराएका छन्।
- बाँकी वडा नं. ८ र ९ मा छठ पर्वपछि शिविर सञ्चालन गरिने र अपरेशन कार्तिक १९–२० गते रोल्पाको थवाङमा हुने जनाएको छ।
भूमे गाउँपालिकामा असोज २६ गतेदेखि सुरु भएको निःशुल्क आँखा स्वास्थ्य शिविर निरन्तर सञ्चालन भइरहेको छ।गाउँपालिकाका बस्ती – बस्तीमा पुगेर आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यो अभियानलाई स्थानीयवासीले विशेष महत्त्वका साथ लिएका छन्।गाउँपालिकाको आयोजनामा, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ (रोल्पा) को सहआयोजनामा, र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वयमा शिविर सञ्चालन भइरहेको हो।शिविर आगामी कार्तिक १७ गतेसम्म निरन्तर चल्ने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ।
९ वटै वडामा सेवा पुर्याउने लक्ष्य
शिविरमार्फत गाउँपालिकाका सबै ९ वटै वडाका बस्तीहरूमा पुगेर निःशुल्क आँखा परीक्षण, मोतिबिन्दु रोगी छनोट, औषधि वितरण, चश्मा परीक्षण तथा उपचार सेवा प्रदान गर्ने लक्ष्य लिइएको हो।पहिलो चरणमा वडा नं. १ देखि ७ सम्मका बस्तीहरूमा शिविर सम्पन्न भइसकेको छ।वडा नं. १ लुगुममा ४८ जना महिला र ६४ जना पुरुष गरी ११२ जनाले सेवा लिएका छन्। तीमध्ये १७ जना (महिला ९, पुरुष ८) मोतिबिन्दु अपरेशनका लागि छनोट भएका छन् भने ३४ जनाले चश्मा परीक्षण गराएका छन्।
त्यस्तै वडा नं. २ काक्रीमा ९९ जनाले सेवा लिएका छन्।तीमध्ये ९ जना मोतिबिन्दुका बिरामी छनोट भएका छन् भने २५ जनाले चश्मा परीक्षण गराएका छन्।वडा नं. ३ सिमामा १०६ जनाले आँखा परीक्षण गराएका छन्।तीमध्ये ११ जना महिला र ९ जना पुरुष गरी २० जना मोतिबिन्दु अपरेशनका लागि छनोट भएका छन् भने ३३ जनाले चश्मा परीक्षण सेवा लिएका छन्।वडा नं. ४ र ५ मा संयुक्तरूपमा १३४ जनाले आँखा परीक्षण सेवा लिएका छन्।तीमध्ये १४ जना (महिला ७, पुरुष ७) मोतिबिन्दुका बिरामी छनोट भएका छन् भने ७१ जनाले चश्मा परीक्षण गराएका छन्।
वडा नं. ६ महतमा ११३ जनाले सेवा लिएका छन्।१४ जना महिला र २२ जना पुरुष गरी ३६ जना मोतिबिन्दु अपरेशनका लागि छनोट भएका छन् भने ९ जनाले चश्मा परीक्षण गराएका छन्।वडा नं. ७ धर्मशालामा १०७ जनाले सेवा लिएका छन्।तीमध्ये ४८ जनाले चश्मा परीक्षण सेवा लिएका छन्।
छठ पर्वपछि बाँकी वडामा सेवा
स्वास्थ्य शाखाका अनुसार बाँकी रहेका वडा नं. ८ र ९ मा छठ पर्व सकिएलगत्तै आँखा स्वास्थ्य शिविर सुरु गरिने तयारी गरिएको छ।स्वास्थ्य शाखा प्रमुखका अनुसार गाउँका दुर्गम बस्तीहरूमा पुगेर स्थानीयलाई आँखा उपचार सेवा दिनु नै शिविरको प्रमुख उद्देश्य हो।शिविरमा सहभागी स्थानीयवासीले निःशुल्क सेवा पाएपछि खुसी व्यक्त गरेका छन्।लामो समयदेखि आँखाको समस्या भएर अस्पताल पुग्न नसकेका बुढापाकाहरू, दैनिकीमा असर पार्ने मोतिबिन्दुका बिरामी, र आर्थिक अभावले चश्मा किन्न नसक्ने ग्रामीणहरूका लागि यो शिविर “आशीर्वाद” साबित भएको स्थानीयले बताएका छन्।भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले शिविरलाई स्वास्थ्य सेवामा गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो।“आँखा स्वास्थ्यलाई गाउँमै पुर्याएर ग्रामीण जनतामा चेतना जगाउनु र उपचार उपलब्ध गराउनु हाम्रो प्रमुख लक्ष्य हो,” अध्यक्षले भन्नुभयो।
लगातार सेवा, आगामी चरणमा अपरेशन
शिविरमा छनोट गरिएका मोतिबिन्दुका बिरामीलाई कार्तिक १९ र २० गते रोल्पाको थवाङमा निःशुल्क अपरेशन गरिने तयारी गरिएको छ।स्वास्थ्य शाखाका अनुसार, शिविर सकिँदासम्म हजारौँले सेवा लिने अपेक्षा गरिएको छ।गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस्ता स्वास्थ्य शिविरलाई नियमित कार्यक्रमका रूपमा लैजाने प्रतिबद्धता जनाएको छ।
स्थानीयवासीले गाउँमै निःशुल्क आँखा उपचार सेवा पाएकोमा खुसी व्यक्त गर्दै गाउँपालिकाको स्वास्थ्य पहलप्रति धन्यवाद दिएका छन्।वृद्धवृद्धा तथा दुर्गम बस्तीका बासिन्दाले लामो यात्रा नगरी गाउँमै गुणस्तरीय आँखा सेवा पाउनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।














प्रतिक्रिया दिनुहोस्