२०८३ साउन १३ गते बुधवार

मौलिक परम्पराको संरक्षण गर्न : गोरु जुधाउने प्रतियोगिता



समाचार सारांश
Generated Using AI
  • रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतमा परम्परागत गोरु जुधाउने प्रतियोगिता तिहारको द्बारे औंसीका अवसरमा सम्पन्न भएको छ।
  • प्रतियोगितामा १० टिम सहभागी भएका मध्ये हर्कबहादुर सुनार प्रथम भएका छन्।
  • स्थानीयले यस परम्परालाई कृषि संस्कृतिसँग जोडिएको मौलिक पहिचानका रूपमा संरक्षण गर्न आग्रह गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वकाे भूमे गाउँपालिका–६, महतमा परापूर्वकालदेखि चलिआएको गोरु जुधाउने परम्परागत प्रतियोगिता यस वर्ष पनि धमाकेदार रूपमा सम्पन्न भएको छ। गाउँ खरदरी समितिद्वारा प्रत्येक वर्ष तिहारको द्बारे औंसीका अवसरमा आयोजना गरिने यो प्रतियोगिता यसपालि पनि गाई तिहारबाट सुरु भएको प्रतियोगिता २ चलेर सम्पन्न भएको हाे।

२०७४ सालदेखि परम्परागत रूपमा प्रत्येक वर्ष नयाँ मुखियाको नेतृत्वमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता यसपटक नवौं मुखिया धरम बुढाको नेतृत्वमा सम्पन्न गरिएको हो। प्रतियोगितामा १० टिमले भाग लिएका थिए। प्रतिस्पर्धात्मक भिडन्तमा कृषक हर्कबहादुर सुनार प्रथम, तपस घर्ती द्वितीय, अमरजङ बुढा तृतीय तथा प्रेम बुढा र सूर्य बुढा सान्त्वना स्थानमा परेका छन्। विजेताहरूले क्रमशः ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँका पुरस्कार प्राप्त गरेका छन्।

मुखिया धरम बुढाको अनुसार हरेक वर्ष असार महिनामा नयाँ समितिको चयन गरी वर्षभरका नीति–नियम र कार्ययोजना तय गरिन्छ। गाउँका कृषकहरूबाट उत्पादन हुने अन्न, फलफूल, मासु लगायत उपभोग्य वस्तुको मूल्य निर्धारणदेखि चरण क्षेत्रको व्यवस्थापनसम्मका निर्णय यही समितिले लिन्छ। चरण क्षेत्रमा मनपरी चरिचरण गर्ने, घाँसपात वा सोत्तर सेउला गर्नेहरूलाई जरिवाना (बनाउलो) तोकिने चलन अझै पनि यथावत् छ। त्यो जरिवानाबाट संकलित रकम समितिको कोषमा जम्मा गरिन्छ र सोही रकमबाट गाउँका चाडपर्व, आजापूजा, खानेपानी धारो, पोखरी, घोरेटो बाटो लगायतका सानातिना विकासका काम सम्पन्न गरिने मुखिया बुढाले बताए।

स्थानीय बासिन्दाहरूका अनुसार तिहारको द्बारे औंसीका दिन गोरु जुधाउने चलन कृषि संस्कृतिसँग जोडिएको मौलिक परम्परा हो। वर्षभर बस्तीका किसानहरूले गोठालो र पशुपालनमा गरेको श्रम र दक्षताको प्रतिविम्ब पनि यही प्रतियोगिताबाट झल्किने गरेको उनीहरूको भनाइ छ।

प्रतियोगितामा लगातार दुई वर्ष प्रथम स्थान हासिल गर्न सफल किसान हर्कबहादुर सुनारले भने, “गोरु जुधाउने संस्कार हाम्रो मौलिक पहिचान हो। कहिलेकाहीँ चोटपटकको जोखिम भए पनि जित–हारभन्दा माथि उठेर परम्परा जोगाउने उद्देश्यले हामी खुशीसाथ सहभागी हुन्छौं।”

मुखिया धरम बुढाका अनुसार प्रतियोगिताका गोरुहरूको कुनै विमा व्यवस्था नभएको र पुरस्कार राशी पनि न्यून भएकाले किसानहरू सहभागी हुन हिचकिचाउने गरेको चुनौती छ। हाल महत गाउँका गोरुहरूबीच मात्र प्रतिस्पर्धा गराइने हुँदा सहभागीको संख्या सीमित रहेको उनले बताए।

वडाध्यक्ष विक्रम पुन मगरका अनुसार, “यो मौलिक संस्कृतिलाई योजनाबद्ध रूपमा संरक्षण र प्रवर्द्धन गर्न सके यसलाई खुला प्रतियोगिताका रूपमा विस्तार गरी पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सकिन्छ। विमा प्रणालीसहित व्यवस्थापन गर्न सके दर्शकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने बुढाले बताए।

सांस्कृतिक धरोहर र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित गोरु जुधाउने यो परम्परा अहिले पनि रुकुम पूर्वको महत गाउँमा गाउँलेहरूको साझा उत्सव र गर्वको प्रतीक बनेर निरन्तर चलिरहेको छ।

 

 

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बिहिवार