समाचार सारांश
- तिहार सकिएलगत्तै रुकुमपूर्वबाट पोखरा, काठमाडौं लगायत सहरतर्फ यात्रुको भीड बढेको छ।
- सिट अभाव र ठेलमठेल बढेपछि प्रशासनले सवारी क्षमता नबढाउन र सुरक्षामा कडाइ गर्न निर्देशन दिएको छ।
- करिब चार हजार यात्रु रोजगार, अध्ययन र व्यक्तिगत कारणले जिल्लाबाहिरिने अनुमान गरिएको छ।
तिहार सकिएलगत्तै रुकुमपूर्वको रुकुमकोट, सिस्ने, भूमे पुथा उत्तरगंगा गाउँपालिका लगायत विभिन्न क्षेत्रबाट जिल्लाबाहिरिने यात्रुको भीड अत्यधिक देखिएको छ। तिहार मनाउन गाउँ आएका र आफ्ना आफन्तसँग भाइटीका लगाउन आएका नागरिक अहिले पुनः पोखरा, काठमाडौं, दाङ, सल्यान र रुकुम पश्चिम सहितका जिल्लातर्फ फर्किन थालेका छन्।
रुकुमकोट यातायात प्रालिका उपाध्यक्ष गणेशकुमार शाहका अनुसार कार्तिक ७ देखि ९ गतेसम्म मात्र करिब दुई हजार यात्रु विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका छन्।“तिहारपछि यात्रुको चाप प्रत्येक वर्षजस्तै यो वर्ष पनि असाधारण छ,” शाहले भने, “लामो दूरीका लागि काठमाडौंसम्म तीनवटा नयाँ बस थपेका छौं।”
त्यस्तै, सिस्ने यातायात प्रालिबाट पनि करिब एक हजार यात्रु बाहिरिएको इन्चार्ज प्रकाश मल्लले बताए। उनका अनुसार यात्रुको संख्या कार्तिक १४ गतेसम्म अझै बढ्ने अनुमान छ।
दुवै प्रालिका तथ्यांक अनुसार आगामी एक साताभित्र रुकुमपूर्वबाट करिब चार हजार यात्रु जिल्लाबाहिरिने देखिएको छ। यीमध्ये धेरैजसो रोजगार, अध्ययन र व्यक्तिगत कारणले आफ्ना कर्मथलो फर्कँदै छन्।
मध्य पहाडी लाेगमार्गकाे मुख्य सडक क्षेत्रमा बिहानदेखि बेलुकीसम्म यात्रुको ठेलमठेल देखिन्छ। टिकट काउन्टरमा लामो लाइन, बोराका र सवारी पर्खिरहेका यात्रुहरूको भीडले बजार नै भरिएको छ।
सिस्ने गाउँपालिका–५ की चाहाना बुढामगरले काठमाडौं फर्कँदै गर्दा भनिन्, “तिहारमा गाउँ रमाइलो भयो तर फर्कँदा बसमा सिट अभाव छ। क्षमता भन्दा बढी यात्रु चढाउँदा जोखिम हुन्छ, त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”
रुकुमपूर्वमा दसैं, तिहारलगायत चाडपर्वका बेला गाउँ फर्किने र त्यसपछि पुनः सहरतर्फ फर्किने यात्रुको चाप प्रत्येक वर्ष दोहोरिन्छ। स्मृति शाहका अनुसार, “यो चाप केवल यातायातको समस्या होइन, रोजगार र अवसरको कथासँग जोडिएको विषय बनेकाे स्मृति बताए ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ का निर्माण घर्तीले भने, “काम र पढाइका लागि हरेक वर्ष फर्किनुपर्छ। गाउँमा अवसर नहुँदा चाहेर पनि टिक्न सकिन्न।”त्यहीँ पनि बसमा सिट नपाएको गुनासो गरे।
यात्रुको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले पनि यातायात व्यवसायीलाई सचेत गराएको छ।प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार, “सिट क्षमताभन्दा बढी यात्रु राखेर जोखिम मोल्नु हुँदैन। यात्रुको चाप हेरेर सवारीसाधन थप गर्न निर्देशन दिएका छौँ।” परियारले भने। तिहारपछि कम्तीमा एक हप्तासम्म यात्रु चाप उच्च रहने भएकाले प्रशासन र प्रहरी दुवै सतर्क छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक निरीक्षक वीर थापाका अनुसार “हामीले मुख्य सडक खण्डहरूमा चेकिङ र सुरक्षामा कडाइ गरेका छौं। सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई तत्काल कारबाही गरेर नियन्त्रण लिएको थापाले बताए ।
कसैका काँधमा झोला, कसैका बोरामा स्याउ र अन्न, कसैका हातमा मकै र आलु — गाउँको स्वाद बोकेर सहरतर्फ लागेका उनीहरूको यात्रा केवल दूरीको होइन, जीवनसंघर्षको यात्रा जाँदै गर्दा गाउँ भने शुन्य हुन थलेकाे छ।
















प्रतिक्रिया दिनुहोस्