
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु भएको छ। सोमबार रातिदेखि लगातार परेको वर्षासँगै जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेपछि डाँडाकाँडा सेताम्मे बनेका छन्।
पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ जमेको छ। विशेष गरी सिस्ने गाउँपालिका–१, भूमे गाउँपालिका–१ र पुथा क्षेत्रका डाँडाकाँडामा हिउँले सबै ठाउँ ढाक्न थालेकाे छ।
पुथा उत्तरगंगा गाउँपालिका–१० का मैत्या घर्तीमगरका अनुसार, “तकसेरा लगायत समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि रहेका बस्तीमा हिउँ परेपछि चिसो तीव्र रूपमा बढेको छ,” घर्तीले भने।
यस्तै सिस्ने गाउँपालिका –१ का वडाध्यक्ष रजबहादुर बुढामगरले भेडी गोठालाहरूलाई पशुचरणमा समस्या भएको बताए। “चरन सबै हिउँले ढाकेको छ। भेडा–बाख्रा गोठमै राख्नुपरेको छ,” उनले भने। उनका अनुसार सिस्ने हिमालको काखमा रहेको ठुलो सिस्ने गाउँमा चिसो बढ्दै गएको छ।
यद्यपि, हिमपातले खेतीपातीका लागि फाइदा पुर्याउने किसानहरूको भनाइ छ। खेतको माटो भिज्दा अन्नबाली उत्पादनमा सुधार हुने अपेक्षा किसानहरूले व्यक्त गरेका छन्।हिउँसँगै हिमाली क्षेत्रका दृश्य झनै मनमोहक बनेका छन्। सिस्ने र पुथा हिमालसहितका आसपासका क्षेत्रमा हिउँ हेर्न र रमाइलो गर्न आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्