२०८३ बैशाख ५ गते शनिवार

थबाङ–२ का वडा अध्यक्षले कार्यालयमै ताला लगाए ,विकासको ढिलासुस्तीप्रति आक्रोश



थबाङ गाउँपालिका–२ का वडा अध्यक्ष अभिलाषा रोका मगरले विकास निर्माणमा निरन्तर ढिलासुस्ती र जनगुनासोप्रति गाउँपालिकाको बेवास्ता भएको भन्दै कार्यालय बन्द गर्दै साँचो गाउँपालिकालाई बुझाउने बताएका छन्।

रोका मगरका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध, र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा समेत स्थानीय सरकार बेवास्ता रहँदा आफू बाध्य भएर यस्तो कदम चाल्नुपरेको हो।

उहाँले भन्नुभयो, “जनताको माग र गुनासोमा गाउँपालिकाले कुनै ध्यान दिएको छैन। म पनि जनताकै पक्षमा उभिन बाध्य भएको छु। समस्या तत्काल समाधान नभए, म पदबाट राजीनामा दिन्छु।”

रोका मगरले आगामी कार्तिक १३ गतेदेखि वडा कार्यालय पूर्ण रूपमा बन्द हुने र आवश्यक कागजात तथा साँचो गाउँपालिकामा बुझाउने बताउनुभयो।

स्थानीयहरूले लामो समयदेखि सेवा–सुविधा, आवतजावत र विद्युत् आपूर्तिमा समस्या झेल्दै आएको र बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नभएको बताएका छन्।

यसबारे सोध्दा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेश बुढा मगरले आफू हाल केन्द्र बाहिर रहेको बताउँदै भने, “मलाई यो घटनाबारे हाल जानकारी छैन। केन्द्र पुगेपछि मात्रै विस्तृत विवरण बुझ्नेछु।”

स्थानीयहरूका अनुसार गाउँपालिकाको केन्द्रमा पहुँच नहुने, सडक सञ्जाल बिग्रिएका कारण नियमित सेवा ठप्प हुँदा वडास्तरीय कार्यालय बन्द हुनु स्थानीय प्रशासनप्रतिको असन्तोषको परिणाम हो।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार