
भूमे गाउँपालिकामा नेपाल सरकारको संघीय तहअन्तर्गत रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुर र गाउँपालिकाको सहकार्यमा चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। कार्तिक १३ गतेदेखि १६ गतेसम्म सञ्चालित सो तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीहरूले सहभागीता जनाएका थिए।
गाउँपालिका उपाध्यक्ष सविना बुढामगरले तालिमको समापन गर्दै उपस्थित सबैलाई आ–आफ्नो दायित्व र कर्तव्य इमानदारीपूर्वक पूरा गर्न आग्रह गर्नुभयो। उहाँले सिकाइलाई व्यवहारमा रूपान्तरण गरी नागरिकलाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिकले वडा स्तरबाट हुने सरकारी सेवामा देखिने साना कमजोरीका कारण नागरिकले असुविधा भोग्न नपरोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो।
त्यसैगरी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुर शाखाका कार्यक्रम संयोजक तथा उप–निर्देशक गजेन्द्र वाग्लेले तालिममा सिकिएका विषयलाई व्यवहारमा उतार्न सके नागरिकमैत्री र जनउत्तरदायी प्रशासन निर्माण हुने बताउनुभयो । उहाँले सार्वजनिक खरिद प्रक्रिया र सेवा प्रवाहका क्षेत्रमा यो तालिमले महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गर्नुभयो ।
वडा नम्बर–७ का वडाध्यक्ष संगम रोकामगरले जनप्रतिनिधि र कर्मचारी संयुक्त रूपमा सहभागी भएको तालिमले स्थानीय विकासलाई फड्को मार्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, सहभागी मध्येका एक, शिक्षा शाखाका टेकबहादुर बुढाथोकीले तालिम अत्यन्तै उपयोगी भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सके सरकारी कार्यशैली अझ प्रभावकारी हुने टिप्पणी गर्नुभयो।
चार दिनसम्म चलेको तालिममा प्रशासनिक दक्षता, सार्वजनिक खरिद, सेवा प्रवाह र नागरिकसँगको उत्तरदायित्वजस्ता विषयमा व्यवहारिक सत्र सञ्चालन गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्