लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका –८ कोर्जा (नाम्फु) का युवाले स्थापना गरेको “जक्सन घट्ट उद्योग” गाउँमा नयाँ आकर्षणको केन्द्र बनेको छ। पछिल्ला वर्षहरूमा परम्परागत पानी घट्टको प्रयोग घट्दै गएपछि स्थानीयवासी विद्युतीय घट्टतर्फ आकर्षित हुन थालेका छन्।
गाउँमै पहिलो पटक दर्ता गरी सञ्चालनमा ल्याइएको यो विद्युतीय घट्टमा अहिले दैनिकरूपमा कम्तीमा आठ जनासम्मको भीड हुने गरेको छ। पिठो पिस्नका लागि पहिले टाढासम्म धाउनुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीयवासीहरू बताउँछन् । स्थानीय कालु रोकाले भने, “पहिले पानी घट्टमा पालो पर्खिँदा बिहानदेखि साझसम्म भोकै बस्नु पर्थ्यो, कहिलेकाहीँ चाखी पिस्नुपर्थ्यो। अहिले गाउँमै सजिलो सुविधा पाएका छौँ,” रोकाले खुसी प्रकट गरे ।
त्यसैगरी सोही गाउँका अर्का सुकमान रोकाको भन्छन् । “यो घट्टले विशेष गरी साना परिवारलाई राहत दिएको छ। युवा उमेरमै यस्तो उद्यम सुरु गर्दा गाउँका धेरै मानिसहरू उत्साहित भएका छन्। नजिकका टोलबाट पनि पिठो पिस्न आउनेहरूको संख्या बढ्दै गएको छ ।” ओम रोकाले भने, “युवा जयकृष्ण रोकाले आफ्नै लगानीमा यस्तो उद्योग स्थापना गर्नु प्रशंसनीय काम हो । सरकारले यस्ता स्थानीय उद्यमीलाई प्रोत्साहनका लागि अनुदानको प्रक्रिया सरल बनाउनेतर्फ ध्यान दिनुपर्छ,” भन्दै सुझाव दिए।
३१ वर्षीय जयकृष्ण रोकाले आफ्नो गाउँको सेवा र आत्मनिर्भरता दुवै लक्ष्य राखेर घट्ट सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार करिब १ हजार ५ सय जनसंख्या र ४० घरधुरी रहेको गाउँमा पिठो पिस्ने दैनिक माग उच्च रहेको छ । “घट्टले एक घण्टामा १० पाथीसम्म पिठो पिस्न सक्छ,” रोकाले बताए।
घट्ट सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च भएको र डेढ वर्ष देखि नियमितरूपमा सञ्चालनमा रहेको उनले जानकारी दिए । रोकाले थपे, “गाउँमा साना कामले पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिन पाएकोमा खुसी छु । यो विद्युतीय घट्टले न केवल मेरो परिवारलाई रोजगारी दिएको छ, गाउँकै जीवनशैली पनि परिवर्तन गरेको छ ।”
एक समय गाउँगाउँमा चहलपहल हुने पानी घट्ट अहिले भने इतिहास बन्दै गइरहेका छन् । मौसम र पानीको मात्रा अनुसार चल्ने ती घट्टहरू अब स्थायी र छरितो सेवा दिने विद्युतीय घट्टले विस्थापित गर्न थालेका छन् ।
नाम्फुका बासिन्दाका अनुसार, पानी घट्ट अब बिस्तारै मौन हुँदै गएका छन्, तर गाउँमा बिजुली र उद्यमशील युवाको उत्साहले नयाँ सम्भावना जगाएको ।
भूमे गाउँपालिका–८ कोर्जामा स्थापना गरिएको विद्युतीय घट्टले गाउँको जीवनशैलीमा ठुलो परिवर्तन ल्याएको छ । यसले परम्परागत पानी घट्टलाई विस्थापन गर्दै समय, श्रम र खर्चको बचत गरेको छ । युवाद्वारा गरिएको यस्तो सानो उद्यमले गाउँमा आत्मनिर्भरता र रोजगारीको सम्भावना देखाएको छ । विद्युतीय प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रको विकासमा नयाँ दिशा दिएको छ भने, यसले गाउँमा प्रविधि र उद्यमशीलताको चेतना पनि जगाएको छ ।














प्रतिक्रिया दिनुहोस्