समाचार सारांश
- संरक्षण, सफाइ र पर्यटकीय व्यवस्थापनमा निरन्तर ध्यान दिनुपर्ने।
- ‘कमलदह’ अहिले रुकुमपूर्वको पहिचान बन्दै।
- आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित ‘कमलदह’ पछिल्ला वर्षहरूमा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। गाउँपालिकाकाे आगन नजिक रहेको यो दह अहिले वर्षभरि नै पर्यटकले गुञ्जायमान हुन्छ।
सूर्योदयका सुनिला किरणसँगै दहमा फुलेका कमलका फूल, हरियाली बनको शान्त माहोल र पानीमा परावर्तित डाँडाकाँडाको दृश्यले यहाँ आउने जो–कोहीलाई मन्त्रमुग्ध पार्छ। बिहानको हिँडाइ, फोटोग्राफी, भिडियो सुटिङ, ध्यान–योगदेखि परिवारसहित विश्राम र घुमघामसम्मका लागि कमलदह उपयुक्त स्थान बनेको छ।
अधिकांश सर्वसाधारण, विद्यार्थी र सरकारी कर्मचारी कार्यालय खुल्नु अघि र बन्द भएपछि केही समय यतै बिताउँछन्। शहरको भीडभाड र तनावबाट टाढा रहन चाहनेहरूका लागि यो दह सहज र शान्त विकल्प बनेको छ।
पहिले खासै परिचित नभएको कमलदह अहिले स्थानीय तहको सक्रियता र प्रचार–प्रसारका कारण नयाँ गन्तव्यको रूपमा स्थापित हुँदैछ। संरक्षण र पूर्वाधार विकाससँगै यसको सौन्दर्यमा थप निखार आएको छ।
दहमा दैनिक फोटा खिच्ने चार–पाँच जना युवाले रोजगारी पनि पाएका छन्। यसले स्थानीय युवामा ‘देशमै केही गर्न सकिन्छ’ भन्ने आत्मविश्वास जगाएको छ।
बाहिरबाट घुम्न आएका पर्यटकका अनुसार स्थानीय सरकार र समुदायले संरक्षण, सफाइ र पर्यटकीय व्यवस्थापनमा निरन्तर ध्यान दियो भने कमलदह जिल्लाको अर्थतन्त्रलाई टेवा दिने प्रमुख गन्तव्य बन्न सक्ने बताएका छन्।
कमलदहमा फोटो खिच्दै आएका रमेश सुनार भन्छन्, “यो ठाउँको प्राकृतिक सुन्दरता आफैंमा अनौठो छ। व्यवस्थापनमा सुधार भयो भने निकट भविष्यमा रुकुमपूर्वको मुख्य पर्यटन आकर्षण यही हुनेछ।”
प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीयको आत्मीय आतिथ्यले ‘कमलदह’ अहिले रुकुमपूर्वको पहिचान बन्दै गएको छ।
















प्रतिक्रिया दिनुहोस्