२०८३ बैशाख ५ गते शनिवार

सिमा गाउँमा धानखेती संकट : परम्परा र उत्पादन घट्दै



तस्बिर : चन्द्र रसाईली

सिमा, कार्तिक २१ ।  भूमे गाउँपालिका –३ सिमा गाउँ, जुन जिल्ला भित्रको एक मात्र धानखेती क्षेत्र हो, अहिले उत्पादन घट्दै गएको अवस्थामा छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा धानको माग बढ्दा पनि स्थानीय उत्पादन स्थिर वा घट्दो क्रममा रहेको छ।

स्थानीय किसान राजन पुन मगरका अनुसार विगतमा सिमा गाउँ धानखेतीका लागि परिचित थियो। “तर विभिन्न प्राकृतिक विपत्ति र युवा पुस्ताले खेतीप्रति चासो नदिँदा खेतमा मकै रोप्न थालेका छन्। पहिले जस्तो धान रोप्ने परम्परा अब छैन,” उहाँले भन्नुभयो ।

चन्द्र  रसाइलीका अनुसार गाउँमा धान लगाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको  बताउनुभयो । तर पछिल्लो समय धेरैले मकै खेतीतिर फर्केका छन् । बर्खे धान भने सबैभन्दा मुख्य खाद्यान्न रहँदै आएको छ ।धान खेती सिमाको लागि अन्न उपार्जन मात्र होइन यो यहाको पहिचान र इतिहास हो यसले गर्दा सिमा गाउलाई चिनाएको छ। उहाँले भन्नुभयो।

सिमा गाउँका करिब ७० प्रतिशत किसान विगतमा धान खेतीमा निर्भर थिए। तर पछिल्लो पाँच वर्षयता धानको घट्दै गएको छ । स्थानीय किसान भाबी पुनका अनुसार मकै खेती तुलनात्मक रूपमा सजिलो र जोखिम उत्पादन कम भएकाले धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् ।

अग्लो भेगमा धान रोप्न अत्यधिक परिश्रम आवश्यक हुन्छ। “धान रोपाइ अन्य बालीभन्दा धेरै श्रम माग्छ। हल–गोरु र जनशक्तिको कमीका कारण काम गर्न गाह्रो भएको छ । हामी बुढा भइसकेका छौं, छोरा–छोरी शहर गएका छन्, गाउँ सुनसान जस्तो बनेको छ ।

सिमा गाउँका किसानहरूले परम्परागत रूपमा रातो धान र कालो धान उत्पादन गर्दै आएका छन् । यी जातहरू स्थानीय जलवायु र माटोका कारण विशेष स्वाद र मौलिक पहिचानका रूपमा चिनिन्छन् । यद्यपि पछिल्ला वर्षमा उत्पादन घटे पनि किसानहरूले परम्परा जोगाउन धान रोपाइ जारी राखेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार