२०८३ साउन १२ गते मङ्गलवार

जन जागृती मा.विमा सार्वजनिक सुनुवाइ : विद्यालयको पारदर्शिता र शैक्षिक गुणस्तर सुधारमा जोड



सामाजिक लेखापरीक्षण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालाहरूको सहभागिता।

कार्तिक २१ । भूमे –६ महतस्थित जन जागृती माध्यमिक विद्यालयमा शुक्रबार सामाजिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी अभिभावक प्रतिनिधि तथा समुदायका सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक चन्द्रबहादुर बुढाले विद्यालयको सर्वाङ्गीण विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार विद्यालयलाई शैक्षिक उत्कृष्टतामा पुर्‍याउन सामूहिक जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसैगरी अभिभावक प्रतिनिधि आसपुरी बुढाले बालबालिकाको हितका लागि अभिभावक सधैं तत्पर रहने बताउँदै विद्यालयमा छात्रावास स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष साबित्रा बुढाले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र समुदायबीचको सहकार्यलाई मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो

कार्यक्रमका प्रमुख अतिथि तथा भूमे –६ का वडाध्यक्ष बिक्रम पुनमगरले विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउन अभिभावकहरूको सक्रिय सहभागिता जरुरी रहेको बताउनुभयो।

कार्यक्रमको समापन सत्रमा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सुवर्ण सुनारले सामाजिक लेखापरीक्षणले विद्यालयको वित्तीय पारदर्शिता सुनिश्चित गर्नुका साथै शैक्षिक प्रगतिको मूल्यांकनमा सहयोग पुर्‍याउने बताउनुभयो । उहाँका अनुसार अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यले मात्र विद्यालयको समग्र विकास सम्भव सुनारले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार