२०८३ कार्तिक १२ गते बुधवार

ब्लड बैंक छैन, ज्यान बचाउन हारगुहार



रुकुमपूर्वमा आजसम्म ब्लड बैंक स्थापना नहुँदा बिरामीको ज्यान बचाउन स्वास्थ्यकर्मी र स्थानीयहरू हारगुहार गर्न बाध्य 
समाचार सारांश
Generated Using AI
  • स्वास्थ्य सेवामा चुनौती थपिरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
  • केही महिनाभित्र रुकुमपूर्व अस्पतालमा ब्लड बैंक सञ्चालनमा ल्याउने लक्ष्य।
  • ब्लड बैंक नहुँदा सुत्केरी महिला र आकस्मिक बिरामीहरूको ज्यान जोखिममा।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कार्तिक २२ रुकुमपूर्व । नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा आजसम्म ब्लड बैंक स्थापना नहुँदा बिरामीहरूले ज्यानको जोखिममा जीवन बिताइरहेका छन् । दुर्गम भूगोल र कठिन पहुँचका कारण यहाँका नागरिकहरू अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

नेपालको संविधान २०७२ अनुसार स्थापना भएको रुकुमपूर्व जिल्ला तीनवटा गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाबाट बनेको छ । यी गाउँपालिकाका ३१ वटा वडामा बसोबास गर्ने बासिन्दा स्वास्थ्य उपचारका क्रममा रगतको अभावमा कठोर समस्या भोग्दै आएका छन् ।

रुकुमपूर्व अस्पतालका सूचना अधिकारी सृष्टि कोइरालाका अनुसार, गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मात्रै करिब २५ जना बिरामीलाई ब्लड बैंक नहुँदा ठूलो कठिनाइका बीच रगत जुटाएर मात्र उपचार गर्न सकिएको बताउनुभयो । “विशेषगरी सुत्केरी महिलामा रक्तश्राव हुने समस्या बढी देखिन्छ । ब्लड बैंक नहुँदा हामीले नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समाजसेवीहरूसँग हारगुहार गरेर रक्तदाता जुटाउँछौँ,”उहाँले भन्नुभयो ।

अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. कृष्ण खरेलले ब्लड बैंक स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो ।“आवश्यक पूर्वाधार  निर्माण र स्वीकृतिका काम भइरहेको छ । केही महिनाभित्र रुकुमपूर्व अस्पतालमा ब्लड बैंक सञ्चालनमा ल्याउने लक्ष्य छ,” डा. खरेलले बताउनुभयो ।

स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पशुपति आचार्यका अनुसार गर्भवती र सुत्केरीलाई ब्लड बैंक नहुँदा उपचारका लागि जिल्ला बाहिर रिफर गर्दा थप जोखिम बढ्ने गरेको छ । “रगत अभावका कारण सुत्केरीलाई अन्यत्र लैजानुपर्ने हुन्छ, तर बाटो दुर्गम भएकाले बीचमै ज्यान जोगाउन गाह्रो पर्छ। यो हाम्रो लागि दिनहुँको चुनौती बनेको छ।”उहाँले भन्नुभयो । रुकुमपूर्वमा ग्रामीण सडकमा हुने दुर्घटना पनि बढी भएकाले आकस्मिक अवस्थामा तुरुन्तै रगत आवश्यक पर्छ । तर तात्कालै रगत दिने सुविधा नहुँदा उपचार ढिलो हुन्छ । दुर्गम जिल्लामा ब्लड बैंक स्थापना नहुनु अत्यन्तै दुखद छ । आचार्यले प्रदेश कार्यालयसँग ब्लड बैंक स्थापनाका लागि आवश्यक पहल अघि बढाइरहेको जानकारी पनि दिनुभयो ।हामीले प्रदेश कार्यालयसँग निरन्तर समन्वय गरिरहेका छौँ । अब काम अघि बढ्ने अपेक्षा गरिएको  बताउनुभयो ।

समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीका अनुसार, ब्लड बैंक नहुँदा सुत्केरी महिला र आकस्मिक बिरामीहरूको ज्यान जोखिममा पर्ने गरेको जानकारी दिनुभयो ।“केही दिनअघि एक सुत्केरी महिलालाई रक्तश्राव भएपछि तत्काल रगत आवश्यक भयो । ब्लड बैंक नभएकाले हामीले सामाजिक सञ्जालमार्फत रगत माग्नुपर्‍यो,” रसाइलीले भन्नुभयो ।, “यदि ब्लड बैंक भएको भए तत्काल उपचार सम्भव हुने थियो।” नेपाल सरकारले रुकुमपूर्वलाई हेर्ने दृष्टिकोण फरक पर्ने रसाईलीले बताउनुभयो ।

रुकुमपूर्व जस्तो हिमाली भेगमा ब्लड बैंकको अभावले आकस्मिक स्वास्थ्य सेवामा चुनौती थपिरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । उनीहरूका अनुसार ब्लड बैंक सञ्चालनमा आएपछि शल्यक्रिया, प्रसूति र आकस्मिक सेवामा ठूलो सहजता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार