२०८३ साउन १५ गते शुक्रवार

मध्यपहाडी र सहिदमार्ग अलपत्र, ठेकेदार सम्पर्कमै आउँदैन



कार्तिक २३ रुकुमपूर्व । नेपाल सरकारकै प्राथमिकतामा परेका राष्ट्रिय गौरवका आयोजना  मध्यपहाडी लोकमार्ग र सहिदमार्ग रुकुमपूर्वमा लामो समयदेखि अलपत्र छन् । सरकारले ठेकेदारमार्फत बजेट उपलब्ध गराएर गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न निर्देशन दिँदै आए पनि, ठेकेदारको ढिलासुस्ती र आयोजनाको बेवास्ताका कारण सडक निर्माण तथा मर्मत सम्भार कार्य अघि बढ्न सकेको छैन । मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा भूमे गाउँपालिका –१ लुगुमदेखि सिस्ने गाउँपालिका –६ रानीकोटसम्म ५५ किलोमिटर फैलिएको छ । यसमध्ये ३५ किलोमिटरमा कालोपत्रे भए पनि बाँकी २० किलोमिटर खण्ड अझै अधुरो छ ।

पञ्चासे – यिरतेता १३ किलोमिटर खण्डको ठेक्का २०७२/७३ मा सिद्धिशाही प्रकाशर भारत खिन्टी महादेव कन्स्ट्रक्सन जेभीले पाएको थियो । तर नौ वर्ष बितिसक्दा पनि कालोपत्रे काम सम्पन्न हुन सकेको छैन । त्यस्तै, रानीकोट– खोपीचार ७ किलोमिटर खण्डमा कालिका प्यासिफिक जेभीले काम गरिरहेको भए पनि ढिलासुस्तीका कारण काम अघि बढेको छैन ।

कालोपत्रे भएको भाग पनि बिग्रँदै

कालोपत्रे सम्पन्न ३५ किलोमिटर खण्ड पनि अहिले जीर्ण बन्दै गएको छ । पानीको निकास नहुँदा सडकमा भल पस्ने गरेको र कतिपय ठाउँमा सडक हिलाम्य बनेर सवारी चल्नै नसक्ने अवस्था आएको स्थानीयको गुनासो छ । नियमित मर्मत सम्भार नहुँदा र गुणस्तर कमजोर भएकाले छोटो समयमा नै सडक खाल्डाखुल्डीमा परिणत भएको उनीहरूको भनाइ छ । भूमे गाउँपालिका –३ र ४ को सिमामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा गाउँपालिकाले आफ्नै पहलमा सडक सञ्चालनमा ल्याएको थियो।

“ठेकेदार सम्पर्कमै आउँदैन”

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार ठेकेदार कम्पनी फिल्डमै नहुँदा सडक खुलेर सवारी सञ्चालनमा ल्याउन गाउँपालिकालाई समस्या हुन्छ । श्रेष्ठले भने, “ठेकेदारले सडक स्तरोन्नति नगर्दा नागरिकलाई आउजाउमा सास्ती छ । सडक अवरुद्ध हुँदा हामीले नै मर्मत गर्नुपर्छ ।”

उहाँका अनुसार गाउँपालिकाले हरेक वर्ष मर्मतमा ४० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गर्नुपर्छ । “गाउँपालिकाको आफ्नै योजनामा बजेट अभाव हुन्छ,” उहाँले भन्नुभयो ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि गाउँपालिकाले मर्मतमा हरेक वर्ष १५ देखि २० लाख रुपैयाँ खर्च गर्नुपरेको बताए । “संघ र प्रदेश सरकारको गैरजिम्मेवारीकै कारण गाउँपालिकाले सास्ती खेप्नुपरेको छ,” रेग्मीले भन्नुभयो ।

महालेखाले बेरुजु देखाउँछ

पुथाउत्तरगङ्गा गाउँपालिकामा पर्ने सहिदमार्ग मर्मतमा पनि हरेक वर्ष ३० देखि ४० लाख रुपैयाँ खर्च हुने गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले जानकारी दिए । “नागरिकका लागि सडक खोल्छौं, तर पछि महालेखापरीक्षकले त्यो हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन भनी बेरुजु निकालिदिन्छ,” बिकले भने । उनका  अनुसार संघ र प्रदेश सरकारले आफ्ना आयोजनामा समयमै  ध्यान नदिँदा गाउँपालिकाले दुबै तर्फबाट मार खेप्नुपरेको छ।

आयोजना कार्यालय पनि असहयोगी

मध्यपहाडी लोकमार्ग र सहिदमार्ग योजना कार्यालयले पनि ठेकेदारले समयमै काम नगरेको स्वीकार गरेको छ । कार्यालयका अनुसार पटक–पटक निर्देशन दिँदा पनि ठेकेदार कम्पनीहरूले फिल्डमा काम अघि बढाएका छैनन् । आयोजना कार्यालय दैलेखमा रहेको छ तर रुकुमपूर्व खण्डको काममा कुनै प्रत्यक्ष अनुगमन हुँदैन । कार्यालयका जिम्मेवार अधिकृतहरूसँग सम्पर्क गर्न खोज्दा फोनसमेत उठ्दैन । भूमेका अध्यक्ष होमप्रकाश श्रेष्ठले भने।

“राष्ट्रिय गौरव होइन, जनताको पीडा”

स्थानीय सरकारले हरेक वर्ष लाखौं रुपैयाँ खर्च गरेर सडक मर्मत गरिरहँदा ठेकेदार कम्पनी र आयोजनाको गैरजिम्मेवारीपनले सडक अलपत्र परेको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएका सडक खण्ड हिलाम्य र खाल्डाखुल्डीमा परिणत हुँदा सरकारको लगानी खेर गइरहेको छ भने नागरिक अझ बढी सास्तीमा परेका छन् । जबसम्म आयोजना कार्यालय र ठेकेदार कम्पनीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दैनन्, तबसम्म मध्यपहाडी लोकमार्ग “राष्ट्रिय गौरव” होइन, “जनताको पीडा”को प्रतीक बनेर रहनेछ ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार