२०८३ कार्तिक १२ गते बुधवार

 भूमे गाउँपालिकाले कम्प्युटरदेखि लोकसेवा तयारीसम्म निःशुल्क सुरु गर्यो



कार्तिक २२ रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाले पहाडी भेगका युवालाई लक्षित गर्दै निःशुल्क कम्प्युटर तालिमदेखि शिक्षक सेवा लाइसेन्स र लोकसेवा तयारी कक्षा सुरु गरेको छ । एसइई तथा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई तीन महिनाको ‘बेसिक कम्प्युटर’ र ‘सरकारी तयारी कक्षा’ सुरु भएपछि वर्षौंदेखि सदरमुकाम र दाङ–काठमाडौँ धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

पहिले कम्प्युटर सिक्न र लोकसेवाको कोचिङ कक्षा लिन विद्यार्थीलाई रुकुमकोट , दाङ पुग्नु परिरहेको थियो । महँगो शुल्क, बसाइँ–सराइ र आवागमन खर्चका कारण धेरै युवाले सिकाइ छुटाइरहेका थिए । गाउँपालिकाले सोही समस्या हटाउँदै स्थानीय तहमै सीप र दक्षता विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो ।

निःशुल्क कम्प्युटर कक्षा लिन आएकी भूमे –२ की मनिषा पुन भन्छिन्,“पहिले रुकुमकोट पुगेपछि मात्र कम्प्युटर सिक्न सम्भव हुन्थ्यो, त्यो पनि धेरै खर्चिलो । अब गाउँमै सुविधा पाएपछि हामीजस्ता विद्यार्थीलाई निकै सहज भएको छ ।”

भूमे –३ की शर्मिला बुढामगर, जो शिक्षक सेवा लाइसेन्स तयारी गर्दै छिन् । गाउँबाट शहरमा शिक्षकसेवा तयारी पढ्न जादाँ समय नभए र लाइसेन्सको तयारी छुटिरहन्थ्यो।  अहिले पालिकाकै सहयोगमा तयारी गर्न पाउँदा आत्मविश्वास बढेको उनले भनिन् । सोही गाउँका स्थानीय चित्रा श्रेष्ठले “कम्प्युटर कक्षा र लोकसेवा तयारी दुवै गाउँमै भएपछि हाम्रो समय, पैसा र अवसर तीनै बच्यो। यस्तो कार्यक्रम युवामैत्री छ ।”

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार “शिक्षामा गुणस्तर सुधार गर्दै सीपयुक्त मानव संसाधन तयार गर्न” पालिकाले आधुनिक सिकाइ प्रविधि अपनाएको हो । उनले भने, “ आजको आवश्यकता अनुसन्धान, नवीनता र प्रविधि हो । गाउँपालिकाले युवाको भविष्य हेरेर निःशुल्क कक्षा सञ्चालन गरेको छ । गाउँका सबै विद्यालयमा कम्प्युटर ल्याब पनि बनाइएको छ ।” गाउँपालिकाले शिक्षामा गुणस्तर सुधार गर्दै । आजको आवश्यकता नयाँ खोज, अनुसन्धान, आविष्कार मानवीय सभ्यताको विकास रहेकोले गाउँपालिकाले सकारात्मक कदमका साथ निःशुल्क कक्षा सञ्चालन गरिएको बताए । निःशुल्क कम्प्युटर कक्षा मात्रै सञ्चालन नभई निमावि र मावि तहका सम्पूर्ण विद्यालयमा कम्प्युटर ल्याब सुविधा सञ्चालन गरिएको बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल बिकका अनुसार “पहाडी युवाले शहर धाउनुपर्ने बाध्यता अब हटेको बताए । निःशुल्क कम्प्युटर र लोकसेवा तयारी कक्षाले युवाको समय, पैसा र मेहनत बचाउँछ । यो दीर्घकालीन लगानीले गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने आधार तयार गरेको छ । अधिकांश ग्रामीण विद्यार्थीले महँगो कोचिङ र आवागमन खर्चका कारण सरकारी तयारीबाट बञ्चित थिए । पालिकाले सुरु गरेको निःशुल्क कक्षा यही समस्या समाधान गर्ने रणनीतिक कदम भएको उनले बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार