रुकुमपूर्व जिल्लाको स्वास्थ्य सेवा वर्षौंदेखि संरचनागत अभावसँग जुधिरहेको विषय नयाँ होइन । तर आजसम्म पनि जिल्लामा ब्लड बैंक नहुनु भनेको जनस्वास्थ्यको अत्यन्त संवेदनशील क्षेत्रमा देखिएको ठूलो खालीपन हो। सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका ३१ वटै वडाका बासिन्दाले आकस्मिक उपचारका बेला रगत अभावका कारण व्यहोर्नुपरेका कठिनाइहरूले अब गम्भीर ध्यानाकर्षणको माग गर्छन् ।
रुकुमपूर्व अस्पतालका स्वास्थ्यकर्मीहरूका अनुभवहरूले यथार्थ स्पष्ट पार्छ ।सुत्केरी महिलामा रक्तश्राव हुँदा र आकस्मिक घाइते ल्याइँदा पहिला रगत खोज्न हतारिनुपर्ने अवस्था छ । सेना, प्रहरी, समाजसेवी र स्थानीय युवाहरूको सहकार्य प्रशंसनीय छ, तर रगत खोज्दै उपचारमा समय खर्चिनु आधुनिक स्वास्थ्य व्यवस्थाको उपयुक्त विकल्प होइन । स्वास्थ्य कार्यालय तथा अस्पताल पक्षबाट ब्लड बैंक स्थापनाका लागि मन्त्रालयसँग समन्वय भइरहेको जानकारी छ, जसले आशा जगाएको छ । आवश्यक पूर्वाधार निर्माण र स्वीकृतिको काम अघि बढिरहेको जनाइएको छ, जुन स्वागतयोग्य पहल हो । यद्यपि स्थानीयहरूको अपेक्षा सरल छ । यो प्रक्रिया यथाशीघ्र परिणाममा पुर्याउनु ।
दुर्गम भेगका सडक दुर्घटना, शल्यक्रिया तथा प्रसूति सेवामा ब्लड बैंकको अभावले चुनौती थपिएको तथ्य स्वास्थ्यकर्मीहरू आफैंले पुष्टि गर्छन् । समयमै रगत नपाउनेबित्तिकै धेरै उपचार प्रभावित हुने गरेको छ । यस्तो आवश्यक सेवामा ढिलाइ हुन नहुनेमा सबै तहका सरकारहरू एउटै मतमा उभिनुपर्ने आजको आवश्यकता हो ।
ब्लड बैंक स्थापना हुनु केवल स्वास्थ्य सेवा विस्तार होइन, नागरिकको आधारभूत हक सुनिश्चितता पनि हो । राज्यको उपस्थितिलाई जनताले नजिकबाट अनुभूत गर्ने महत्वपूर्ण माध्यम यही हो । प्रदेश र संघीय तहका सम्बन्धित निकायले छिटो निर्णय र प्रभावकारी कार्यान्वयनमार्फत रुकुमपूर्वलाई ब्लड बैंक सुविधायुक्त जिल्लाको रूपमा अघि बढाउनु सबैको जिम्मेवारी हो । नागरिकले जीवनरक्षक सेवा पाउन ‘हारगुहार’ गर्नु नपर्ने दिन अब टाढा नरहोस्यो नै । जनता–सरकार सबैको साझा लक्ष्य हो ।











प्रतिक्रिया दिनुहोस्