२०८३ बैशाख ३ गते बिहिवार

वडामै एकीकृत घुम्ती शिविर लिएर सरकार पुगेपछि स्थानीय खुशी



रुकुमपूर्वको भूमे गाउँपालिका –७ धर्मशालामा आइतबार सञ्चालन भएको एकीकृत सेवा प्रवाह घुम्ती शिविरले दुर्गम वडाका बासिन्दालाई सेवा घरमै पुर्‍याएको छ । गाउँपालिकाको आयोजनामा र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्वको आर्थिक सहयोगमा गरिएको शिविरमा बिहानैदेखि सेवाग्राहीको भीड लागेको थियो ।

स्वास्थ्यदेखि प्रशासनिक कागजरसम्मका काम एउटै ठाउँमा उपलब्ध भएपछि स्थानीयले यसलाई “सरकार हाम्रो गाउँमै झरेको दिन” भन्दै स्वागत गरेका छन् । शिविरमा महिला रोग विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, गर्भवती महिलाको भिडियो एक्सरे, पाठेघर क्यान्सर जाँच, औषधी वितरण, साथै गाउँपालिकाका सबै प्रकारका प्रशासनिक र प्राविधिक सेवा प्रदान गरिएको हो ।

प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष सविना बुढामगरले घुम्ती शिविरको उद्देश्य दुर्गम र विकट वडामा सेवा पहुँच पुर्‍याउनु नै हो । गाउँपालिका कार्यालयसम्म आउनु धेरैलाई कठिन छ । सेवा नपाएको गुनासो बढिरहेका बेला हामी वडामै पुगेर सेवा दिने रणनीति बुढामगरले बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य तथा प्रशासनिक सेवालाई नागरिकको दैलोसम्म पुर्‍याउने अभियानलाई निरन्तरता  विगकता वर्षदेखि नै सचालनमा लिएको बताउनुभयो ।

यस्तै वडाध्यक्ष संगम रोकामगरले घुम्ती शिविरले वडाबासीको दैनिकी सहज बनाएको बताउनुभयो । गर्भ  जाँच र भिडियो एक्सरे गराउन  रुकुमकोटसम्म  हिँडेर जानु पर्ने बाध्यता थियो । गाउँमा नै आएर शिविर सञ्चालन गर्दा  दुर्गम क्षेत्रमा सेवाको पहुँचमा ठूलो परिवर्तन आउने रोकामगरले बताउनुभयो ।

गाउँपालिकाले भोली सोमबार भूमे –८ पोखरापाटामा पनि सोही प्रकारको शिविर संचालन गरिने जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार