कार्तिक २४ रुकुमपूर्व । मिक नेपाल र फेयरमेड फाउण्डेशन नेपालको साझेदारित्वमा सञ्चालित ‘सम्बोधन’ परियोजनाअन्तर्गत भूमे गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा फेयरमेड फाउण्डेशन नेपाल, रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्कीले समाजमा कायम आउने विभिन्न प्रकारका लैंगिक, जातीय, क्षेत्रीय तथा सामाजिक भेदभावका रूप र तीनका कानुनी परिणामबारे विस्तृत प्रस्तुति राख्नुभएकाे थियाे ।
कार्कीले नेपालको संविधान तथा लागू पर्ने कानुनहरूले कुनै पनि व्यक्तिलाई जात, लिङ्ग, क्षेत्र, धर्म वा सामाजिक पहिचानका आधारमा भेदभाव गर्न कडाइका साथ निषेध गरेको उल्लेख गर्दै भेदभाव साबित भएमा लगाइने कानुनी कारबाहीबारे सहभागीहरूलाई जानकारी दिएकाे बताउनुभयाे । “सभ्य र समावेशी समाज निर्माण सबै नागरिकको साझा जिम्मेवारी हो। कुनै पनि प्रकारको भेदभाव सह्य हुँदैन,” कार्कीले भन्नुभयो ।
‘सम्बोधन’ परियोजनाले स्थानीय तहमा लैंगिक समानता, सामाजिक न्याय र भेदभावमुक्त वातावरण स्थापनाका लागि निरन्तर सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ। भूमे गाउँपालिकामा भएको यस अन्तरक्रियाले स्थानीय प्रतिनिधि, महिला समूह, युवाहरू तथा सरोकारवालाबीच समानता र समावेशीकरणबारे थप जागरूकता पैदा गरेको आयोजकले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्