२०८३ बैशाख ३ गते बिहिवार

सन्तुलित आहार : स्वस्थ जीवनका लागि अनिवार्य आवश्यकता



  • संजिब खड्का जनस्वास्थ्य  निरिक्षक

स्वस्थ जीवनका लागि सन्तुलित आहार सबैभन्दा महत्वपूर्ण आधार हो । हाम्रा दैनिक खानपानका बानीले नै शरीरको विकास, रोग प्रतिरोधात्मक क्षमता, उर्जा स्तर र समग्र स्वास्थ्यको अवस्था निर्धारण गर्छ। त्यसैले पोषण कर्णरमा उल्लेखित सुझावहरूलाई ध्यानपूर्वक पालना गर्नु अत्यावश्यक छ । हाम्रा दैनिक भोजनमा गुलिया तथा चिल्ला पदार्थहरू सोच विचार गरेर मात्र सेवन गर्नुपर्छ। यी खाद्य पदार्थहरूको अत्यधिक प्रयोगले मोटोपन, मधुमेह, मुटु रोगजस्ता समस्या उत्पन्न गर्न सक्छन् । त्यसैले यसको मात्रा नियन्त्रित राख्दै, आवश्यक मात्रामा मात्र सेवन गर्नु नै स्वास्थ्यका लागि उत्तम हुन्छ ।

प्रोटिन र आवश्यक पोषक तत्वले भरिपूर्ण माछा, मासु, दुध तथा अण्डा नियमित रूपमा सेवन गर्नु स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यी खाद्य पदार्थहरूले शरीरको वृद्धि, मांसपेशीको मजबुती, रगत उत्पादन तथा शारीरिक क्षमता वृद्धि गर्न मद्दत गर्छन् । त्यसैगरी, फलफूल र तरकारीहरू दैनिक रूपमा सेवन गर्नुहोस्। यीमा पाइने भिटामिन, मिनरल र एन्टिअक्सिडेन्टहरूले शरीरलाई रोगबाट जोगाउने मात्र होइन, पाचन प्रणाली सुधार्ने र छालालाई स्वस्थ बनाउने काम गर्छन् ।

हाम्रो नेपाली भान्साको आधार रहेका दाल, गेडागुडी तथा अन्य कचिला–कचिला खाद्यवस्तुहरू प्रत्येक छाकमै समावेश गर्नु जरुरी छ। यीले प्रोटिन, फाइबर र सूक्ष्म पोषक तत्व उपलब्ध गराउँछन्, जसले शरीरलाई स्वस्थ र सबल राख्न मद्दत गर्दछ ।

त्यस्तै, अन्न तथा कन्दमूल पदार्थहरू पर्याप्त मात्रामा सेवन गर्दा शरीरलाई आवश्यक उर्जा प्राप्त हुन्छ । चामल, गहुँ, मकै, आलु, कोदो जस्ता परिकारले हामीलाई दैनिक क्रियाकलापका लागि आवश्यक शक्ति प्रदान गर्छन् । अन्त्यमा, सन्तुलित आहार भनेको कुनै एक प्रकारका भोजनको अत्यधिक सेवन होइन, सबै किसिमका पौष्टिक तत्व उचित मात्रामा समावेश गरिएको खानपान हो । यसले स्वस्थ जीवन, बलियो शरीर, र दीर्घकालीन रोगबाट जोगिन मद्दत गर्दछ । सन्तुलित आहार खाऔ, स्वस्थ रहौ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार