भूमे गाउँपालिकाले वडास्तरमै पक्की प्रशासनिक भवन निर्माणलाई द्रुत गतिमा अघि बढाएको तथ्यले स्थानीय शासनको गुणस्तर, पहुँच र विश्वसनीयताबारे नयाँ आशा जगाएको छ । अघिल्लो वर्षसम्म भाडाको घरमा सेवाग्राहीलाई सेवा दिन बाध्य वडाहरू आज आफ्नै संरचनाबाट सेवा प्रवाह गर्न नजिक पुगेका छन् । यो यात्राले विकासका प्राथमिकतामा प्रशासनिक मजबुतीलाई केन्द्रमा राखिएको स्पष्ट संकेत दिन्छ ।वडा नं. १ लुकुम र वडा नं. ७ धर्मशालामा पक्की भवन निर्माण सम्पन्न भइसकेको छ । सेवा दिने अधिकारिक थलो नै पक्की, सुरक्षित र सुगठित भएपछि सेवाग्राहीमैत्री वातावरण सिर्जना हुनु स्वाभाविक हो । हाम्रो जस्तो हिमाली जिल्लामा अब सेवा भोग्न टाढा धाउनुपर्दैन । यति मात्र होइन, प्रशासनिक विश्वसनीयता र अनुशासन स्थापित गर्न पनि पक्की भवनले महत्वपूर्ण भूमिका खेल्छ ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको ‘सबै वडामा एउटै स्वरूप, एउटै मापदण्डका आधुनिक भवन’ निर्माण गर्ने नीति सही दिशा र दीर्घदृष्टिको पहिचान हो । स्थानीय सेवाग्राहीको दैनिक हक–अधिकारसँग प्रत्यक्ष सम्बन्ध हुने वडास्तरमै अब लाइन व्यवस्थापनदेखि पहुँचमैत्री संरचनासम्मका सुविधा उपलब्ध गराउने योजनाले स्थानीय शासन प्रणालीलाई व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गर्न सकिन्छ । तर, यो मात्र संरचना निर्माणको कुरा होइन । यो स्थानीय सरकारको प्राथमिकता, सेवा प्रवाहमा देखिएको सुधार, र जनताको अपेक्षासँग मेल खाने व्यवहारिक प्रतिबद्धताको मुद्दा हो । वर्षौँदेखि अस्थायी कार्यालयमा सेवा लिन बाध्य स्थानीयका लागि यी नयाँ भवनहरू केवल ‘इमारत’ होइनन्, विश्वास र समान पहुँचको आधारभूत संरचना हुन् ।
अब चुनौती भनेको निर्माण भइरहेको भवनहरूको गुणस्तर, समयमै हस्तान्तरण, र पर्याप्त जनशक्ति व्यवस्थापन हो । भवन बनेसँगै सेवा प्रभावकारी नबने पुनः असन्तुष्टिको चक्र सुरु हुन सक्छ । त्यसकारण, संरचना निर्माणसँगै सेवा प्रणाली सुधार, जनशक्ति प्रावधान र उत्तरदायित्वको स्पष्ट मापदण्ड एकैसाथ अगाडि बढाउनुपर्छ ।
भूमे गाउँपालिकाले पाँच वर्षे कार्यकालमै सबै वडामा पूर्ण रूपमा सेवा सुगमता सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो लक्ष्य कागजमा मात्र सीमित नहोस्, स्थानीय जनताले व्यवहारमै अनुभव गर्न पाऊन् । यही नै वर्तमान नेतृत्वको सफलताको वास्तव । अर्को चरण, भवन मात्र होइन । सेवाको गुणस्तरमा प्रतिस्पर्धा होस् ।














प्रतिक्रिया दिनुहोस्