मंसिर ८ रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पासँग सीधा जोडिने मध्यपहाडी लोकमार्गको मुख्य भाग मानिने रानीकोट–किटिनी सडकखण्ड करिब एक महिनापछि आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । सो सडक खण्ड कार्तिक १२ गतेदेखि मर्मतका लागि बन्द गरिएको थियो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार सो मार्गका दुई सर्वाधिक जोखिमयुक्त स्थान मुसिकोट नगरपालिका –८ को किटिनी र रुकुमपूर्वको सिस्ने गाउँपालिका ६ को रानीकोटमा ढलानपछि सडक सुचारु गरिएको हो । किटिनीमा २६० मिटर ढलान : थप कटिङ सम्भव नभएपछि विकल्प अपनाइएको थानीले अनलाईन खबरसंग बताए । किटिनीको भीरालो सडक वर्षौंदेखि जोखिमपूर्ण मानिँदै आएको थियो । प्राविधिक मूल्यांकनमा थप कटिङले पहिरोको जोखिम बढ्ने प्रस्ट भएपछि सडकलाई ढलान गरेर मजबुत बनाइएको छ । उनले भने।
यस्तै स्थानीयले ‘अति जोखिमयुक्त मोड’ भनेर चिन्ने रानीकोट खण्डमा पनि ढलान गरिएको छ । यात्रु तथा मालवाहक सवारी दुवैका लागि वर्षौँदेखि रहेको जोखिम यस मर्मतसँगै अंत्य भएको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए । अति जोखिमयुक्त स्थानमा ढलान भएपछि सडकको अवस्था स्थिर र सुरक्षित बनेको छ । “अधिकांश खण्ड कालोपत्रे भइसकेको बाँकी भाग पनि चरण–बद्ध रूपमा कालोपत्रे हुँदैछ । अब यात्रु तथा मालढुवानी दुवैका लागि यात्रा सहज हुन्छ,” परियारले भनिन् ।
दुई जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार खण्ड कार्तिक १२–३० सम्म बन्द गरिएको थियो ।तर मर्मत बाँकी रहेपछि मंसिर ७ सम्मको अतिरिक्त अवधि थपिएको थियो । बन्द अवधिमा साना सवारी खलङ्गा–छिङ–धाउन्ने रुटमा चलाइएको थियो । भने ठूला सवारी खलङ्गा–छिनखेत–पिपल–पोखरा हुँदै रुकुमकोट झर्दै आएका थिए । रानीकोट–किटिनी खण्ड रहेको मध्यपहाडी लोकमार्ग रुकुमपूर्वदेखि रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज हुँदै डोल्पासम्म जोडिने महत्वपूर्ण करिडोर हो ।
















प्रतिक्रिया दिनुहोस्